काठमाडौं : चितवन– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा परेका छन् ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार साँझ सूचना जारी गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने स्वतः निलम्बनमा परेको उल्लेख छ ।
सो दफामा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकामा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ’ भन्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ । सोही कानुनी व्यवस्थाबमोजिम सूचना जारी गरिएको महासचिव पाण्डेयले उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सभामुखलाई पत्र लेखी चितवन– २ बाट निर्वाचित लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको थियो ।
‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने छ’, सम्पत्ति शुद्धीकरणको दफा २७ मा भनिएको छ ।
पत्रमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको जनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका लागि अनुरोध गरिएको प्रहरीले सभामुखलाई लेखेको पत्रमा उल्लेख छ ।
प्रतिनिधिसभा, नेपाल प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, अवरोध जाहेरी शाखा गण्डकीलाई पनि बोधार्थ दिई कास्की प्रहरीले सभामुखलाई पत्र लेखको थियो ।
लामिछानेलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग गरिएको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो माग दाबी भएको छ ।
२ कात्तिकमा पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
बयान सुरु
लामिछानेसहितको मुद्दा जिल्ला अदालतमा दर्ता भएपछि बयान प्रक्रिया सुरु भएको छ । अदालतमा सोमबार गोरखा मिडिया प्रा. लि.का संचालक छविलाल जोशीको बयान सुरु भएको छ । उनको बयान नसकिएका कारण मंगलबार सुरुमा उनकै बयान हुने छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा मुद्दासँग सम्बन्धित प्रश्न सोध्ने र जबाफ लिने काम भइरहेको छ । सोमबार छविको बयान पूरा नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
अदालतमा छविको बयान सकिएपछि अन्य अभियुक्तको बयान हुने र बयान सकिएपछि थुनछेक बहस हुने छ ।
सोमबार बयानका लागि लामिछाने र छविसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो । जोशीको बयान सकिएपछि अन्य ४ जनाको बयान हुने छ । बयान सकिन मात्रै ३–४ दिन लाग्ने जनाइएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ठगीको मुख्य नाइके मानिएका जी. बी. राई भने हालसम्म फारर छन् । प्रतिवादी छविले आफूले सहकारीको १ पैसा पनि नलिएको बयानका क्रममा बताएका छन् ।
अर्याल कार्यबाहक सभापति
रास्वपाले उपसभापति डी. पी. अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालयको भर्चुअल बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
सभापति लामिछानेले पार्टीको कार्यबाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । सचिवालय बैठकमा केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफल गरेको पनि प्रमुख सचेतक परियारले बताए ।
पार्टी विधान, २०७९ (संशोधन, २०८१) को धारा २५(४) (क) (९) बमोजिम ६ पुसमा पार्टी सभापति लामिछानेले अर्याललाई कार्यबाहक सभापति तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, रास्वपाले लामिछानेको पक्राउका विषयमा अदालतको न्यायिक प्रक्रियालाई सघाउने पनि बताएको छ । बैठकले कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेको न्यायिक प्रक्रियालाई पूर्ण रूपमा सघाएर जाने निर्णय गरेको हो ।
प्रहरी हिरासतमा रहँदासमेत कार्यबाहकको जिम्मेवारी नदिएको भनी आलोचना भइरहेको अवस्थामा अर्याललाई कार्यबाहकको भूमिका दिइएको हो । रास्वपाको विधानअनुसार उमेरले ज्येष्ठ उपसभापति कार्यबाहकको भूमिकामा रहन्छन् । रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको सहमतिमै अर्याललाई कार्यबाहकको जिम्मेवारी दिइएको हो ।
लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्ने छ । संसदीय दलको बैठक तत्काल बोलाइएको छैन ।
त्यसअघि रास्वपा सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति लामिछानेको सांसद पद निलम्बन नगर्न आग्रह गरेका थिए ।
सभामुखको कार्यकक्षमा पुगेर रास्वपा सांसदहरू सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभापति लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका थिए ।
भेटमा सभामुखले कानुनी प्रक्रिया हेरेर निर्णय लिने जबाफ दिएका थिए ।