काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सिस्नुपानी नेपालको प्रस्तुती जुरुक्क कर्णाली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताएका हुन् । उनले सधैँ नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको बताए ।
सबै सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बन्न समय नलाग्ने उनको भनाइ छ । आफूमाथि गरिएका व्यंग्यहरु केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो रहेको टिप्पणी गरे । कर्णालीको लागि आफूले केही मानिसहरुले गरेको योगदान बाहेक प्रतिष्पर्धा गर्नसक्ने कामहरु गरेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अलिकित नकारात्मक एटिट्युड बनेको छ । त्यसकारण सकारात्मक सोचको विकास गरौँ । सकारात्मकताका साथ अघि बढौँ । केही गरौँ । मलाई अघि राखेर गरिएका व्यंग्यहरु कस्तो भने केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो लाग्यो । पर्सनल्ली पनि कसले कति गरेको छ, कर्णालीको लागि भन्ने म त टाढाकै मान्छे हुँ, झापाको एउटा कुनाको मान्छे । केही साथी मात्रै अघि जानुहोला नत्र प्रतिष्पर्धामा पर्दछु । हामी भन्नेमात्रै होइन, गर्ने पनि पर्छौं । ग्याँसको खोजि गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरु थुप्रै थिए । आज ग्याँस पाइयो । सक्कली कर्णाली त त्यस्तो वैगुनी हुनै सक्दैन । ग्याँस पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने । बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली । कमजोरी होलान् सुधार गरेर जानुपर्छ ।’