काठमाडौंः नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरुका माग सम्बोधन नभएको भन्दै महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघले दुई चरणमा आन्दोलन गर्ने बताएको छ । जसअनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने रहेको बताएको छ ।
यस्तै, भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने कार्यक्रम छ ।
दोस्रो चरणकाे आन्दोलनका कार्यक्रम भने भदौ २१ गते सार्वजनिक गर्ने महासंघले जनाएकाे हो । जसमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कार्यक्रम रहनेछन् ।