२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

अर्घाखाँचीको शितगंगा-११ मा चौथो सेवा केन्द्र स्थापना

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ भदौ ६ गते १४:१०
Shares
अर्घाखाँचीको शितगंगा-११ मा चौथो सेवा केन्द्र स्थापना

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–११ मा स्थानीय नागरिकलाई सहज रूपमा सेवा पुर्‍याउन चौथो सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

वडाको विकट क्षेत्रमा बसोबास गर्ने बासिन्दाले अब वडा कार्यालय पुग्न दिनभर पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । करिब ५० किलोमिटर दूरी छोट्याएर आफ्नै टोलमा सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

वडा अध्यक्ष नवराज भुसालका अनुसार दोबाटामा रहेको तारा ज्योति आधारभूत विद्यालयको खाली भवन मर्मत गरी सेवा केन्द्र स्थापना गरिएको हो । उनले भने, 'नागरिकले आफैं सरकार देख्ने, महसुस गर्ने वातावरण बनाउन यो पहल गरिएको हो ।'

यो सेवा केन्द्र सञ्चालनमा आएपछि धानखोला, भक्कुचोक, जाबुने, फेदी, बेलदमार, चावदीपसहित झन्डै १३५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यसअघि वडा नं. ११ मा खयरभट्टी र टिक्करि क्षेत्रबाट सेवा दिइँदै आएकोमा अहिले दोबाटा समावेश भएपछि चार ठाउँबाट सेवा उपलब्ध भएको छ।

वडाले अपांग, अति अशक्त र ८४ वर्षमाथिका नागरिकलाई घरमै पुगेर सेवा दिने अभियानलाई निरन्तरता दिइरहेको छ । यस वर्ष पनि प्राविधिक, कर्मचारी र जनप्रतिनिधि स्वयं गाउँ–गाउँ पुगेर सेवा दिने तयारी भइरहेको अध्यक्ष भुसालले बताए ।

सम्बन्धित खबर