जुम्ला : जुम्लाको सिंजा क्षेत्रलाई लक्षित गरी मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा सिंजा र कनका सुन्दरी गाउँपालिका गरी तीन वटा गाउँपालिकालाई लक्षित गरेर मालपोत र नापी कार्यालय कार्यालय स्थापना गर्न लागिएको हो ।
स्थानीय सरकारले तल्लो तहका सबै प्रक्रिया पुर्याएको बताइएको छ । दुई वर्ष अगाडि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कामका लागि पहल थालिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको बैठकले पुस ९ गते सिंजाको नराकोटमा मालोपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले पुस ९ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको जानकारी प्राप्त भएको बताए ।
उनका अनुसार स्थानीय तहदेखि यहाँ आइपुग्दासम्म विभिन्न २० वटा चरण पार भएका छन् । अबको मुख्य सचिवले प्रमाणीकरण गरेमा २१ चरण पार भएर कार्यालय स्थापनाका लागि बाटो खुल्नेछ ।
गाउँपालिका अध्यक्ष धितालले सिंजामा मालपोत र नापी कार्यालयलाई लक्षित गर्दै सामाजिक सञ्जालमा सिंजावासी सुखद खबरको प्रतिक्षामा रहेको बताए । सिंजामा मालपोत र नापी कार्यालय स्थापनापछि लामो समयदेखि नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने छ । भूमि व्यवस्था मन्त्रालयको मिति २०८१ पुस ९ गतेको बैठकबाट सिंजामा नापी र मालपोत कार्यालय राख्ने निर्णय गरेको थियो ।
सिंजामा मालपोत र नापी आवश्यकता पर्दछ भन्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालादेखि नै पहल शुरु गरिएको थियो । सिंजामा मालापोत नापी कार्यालय स्थापना गर्ने निर्णयप्रति सिंजावासीले खुसी व्यक्त गरेका छन् । स्थानीय दलबहादुर वडले स्थानीय सरकारले आफ्नो प्रतिबद्धता अनुसार सिंजामा मालपोत र नापी स्थापना गर्ने काम गरेकोमा स्थानीय सरकार र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।