जुम्ला : भारतको उत्तराखण्डमा पर्ने जोसिमेटबाट नेपाल फर्कीएका जुम्लाका दुई युवा बेपत्ता भएका छन् । चन्दननाथ नगरपालिका १ कुलालवाडाका विकास कुलाला र हरिबहादुर कुलाला १९ दिनदेखि बेपत्ता भएका हुन् ।
गत मंसिर २५ गते भारतको जैसिमेटबाट उनीहरु घर फर्कीएका थिए । गत मंसिर २० गते जुम्लाबाट चन्दननाथ नगरपालिका १ कुलालवाडाकै काशिराम कुलालासँग उनीहरु नेपालगन्ज पुगेका थिए । काशिरामले भारतको जोसिमेटमा राम्रो काममा लगाइदिने भन्दै उनीहरुलाई लगेका थिए । त्यसपछि उनीहरु मंसिर २२ गते भारतको जैसिमेट भन्ने ठाउँमा पुगेको फोनमार्फत काशिरामले जानकारी गराए । विकासकी आमा उजेली कुलालका अनुसार त्यसको भोलिपल्ट मंसिर २३ गते विकास बिरामी भएको खबर काशिरामले गरेका थिए । फेरि २४ गते हरिबहादुर पनि बिरामी भएको खबर गरेका थिए ।
त्यसको भोलिपल्ट मंसिर २५ गते विकास र हरिबहादुर दुबै जना बिरामी भएकाले नेपाल आउने गाडीमा पठाइदिएको काशिरामले फोनमार्फत जानकारी गराएका थिए । विकासकी आमा उजेली र देउला कुलालाले गत मंसिर २५ गतेबाट छोराहरु सम्पर्कमा नआएको बताउँदै खोजीका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
देउला कुलालाका अनुसार भारतमा रहेका काशिरामले दुबै जनालाई गाडीको टिकट काटेर घर पठाइदिएको र आफुसँग नरहेको बताएका छन् । उनीहरु १९ दिनदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै खोजी कार्यको लागि सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।
विकासकी आमा उजेलीले खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा गएको तर प्रहरीले भारतको कुरा हामीले हेर्न नमिल्ने भन्दै घर फर्काइदिएको बताइन् । उनले भनिन्,‘हामी दुबै जना एकल महिला हौं, आफु बाहेक घरमा अरु कोही छैनन् । छोराहरु पनि बेपत्ता भएपछि तनाव भएको छ । उनीहरु दुवै जना भारत पहिलो पटक गएका हुन् । उनीहरुलाई खोज्न जाने हामीसँग पैसा छैन ।’
उनीहरुले फेला पार्नेले नजिकैको प्रहरीमा वा चन्दननाथ १ वडाकी सदस्य कोइरे कुलालाको फोन नम्बर ९८४८३९२७१५ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।