२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु

ADV
सत्यराज सिंह
२०८१ पुष १५ गते १०:५२
सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु

बझाङ : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्व सुरु भएको छ । बझाङलगायत सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु भएको हो । 

यो पर्व युद्धकालीन अभ्यास बझाङ्गी संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ । हातमा तरबार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विशेष गरी सुदूरपश्चिमको बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा मनाउने गरिन्छ । 

भुवा पर्वको अवसरमा घरघरमा गएर भुवा–भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने प्रचलन रहेको छ । ऐतिहासिक किम्बदन्ती बोकेको भुवा पर्वको सांस्कृतिक महत्व पनि रहेको छ । महाभारतको युद्धमा पाण्डव र कौरव बिचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् ।

पौराणिक कालमा कौरवमाथी पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । आफन्तसँगको भेटघाट, आपसी सद्भाव, रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ । सुदूरपश्चिमका बझाङ, अछाम, डोटी लगायत बाजुरा जिल्लाको विभिन्न गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन् । भुवा पर्वमा पाण्डव र कौरवको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने, भारीखेल लगाउने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ ।

आज बझाङ जिल्लासहित सुदुपश्चिमका जिल्लाहरुमा आगोका राँकाहरू बालेर स्थानीयले एकै ठाउँमा जम्मा भई भुवा जगाएका छन् । सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले तथा पाण्डवले कौरवसँगको लडाइँमा विजय हासिल गरेको अवसरमा भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकार जयपृथ्वी नगरपालिका–१ कैलासका विर्ख बहादुर सिंहले बताए । उनका अनुसार पुरानो संस्कृतिअनुसार विभिन्न गाउँटोलमा भुवा नाच देखाउने गरिन्छ । यो समय  खेतीपातीको कामबाट फुर्सद हुने समय भएकाले स्थानीयहरू पर्वमा बढी सहभागी हुने गरेको सिंहले बताए । भुवा नाचका क्रममा नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ । 

सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा यसलाई लिइने गरेको मष्टा गाउँपालिका–४ खेतिका भुवा पर्वका जानकार जया सेटिले बताए । सेटिले भने, ‘सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो नाच जोगाउन यहाँको युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक छ ।’अघिल्लो पुस्ताका बूढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्छन् । भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो । भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछन् । 

महाभारत युद्धमा पाण्डव पक्षको विजयउत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जयपृथ्वी नगरपालिका–१ कैलाशका स्थानीय महेन्द्र सिंहले बताए । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा पनि यो पर्व मनाउन थालिएको छ  । जयपृथ्वी नगरपालिका–१ कैलाशका स्थानीय भविन्द्र बहादुर सिंहका अनुसार घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ । सिंहले भने, “हाम्रो गाउँघरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवा पर्वकै अवसरमा छैटी खेल्ने चलन छ । छैटीमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने चलन छ ।”

ADVADV

सम्बन्धित खबर

Advertise