२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गेरुवा गाउँपालिकामा प्रभावकारी बन्दै ’प्रधानमन्त्री रोजगार कार्यक्रम’

ADV
सन्तोष पौडेल
२०८१ असार १० गते २२:०४
गेरुवा गाउँपालिकामा प्रभावकारी बन्दै ’प्रधानमन्त्री रोजगार कार्यक्रम’


बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ’प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । पालिकाभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्दै सूचीकृत बेरोजगार युवा युवतीहरुलाई स्थानीय विकासमा सहभागी गराएसँगै प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रभावकारी हुँदै गएको हो ।

बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरुले काम पाएसँगै उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको ’प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत काम गरेका मजदुरहरुको भनाइ छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्न थालेपछि सामाजिक प्रतिष्ठा बढेको उनीहरुको बुझाइ छ । पहिले पैसा सापटी माग्दा आनाकानी गर्ने साथीभाइ, आफन्तले अहिले सापटी माग्दा सहजै दिने गरेको रोजगारमा संलग्न भएका गेरुवा गाउँपालिका वडा नं. ६ नारायणपुरका तुल्सीराम चौधरीले बताए ।

धेरैजसो कामका क्षेत्रहरुमा महिलाको भन्दा पुरुषको ज्याला बढी हुने गर्दछ । तर प्रधानमन्त्री रोजगार कार्यक्रममा समान ज्यालाको व्यवस्था छ । जसले गर्दा महिलाहरुलाई काममा हौसला मिलेको छ । यति मात्रै होइन, महिलाहरू बैंकिङ कारोवार गर्न जान्ने भएको, योजना छनोट, उपभोक्ता समिति गठन, योजना सम्झौता, योजना अनुगमन, डोर हाजिरी राख्न लगायत बारे जानकार भएको वडा नं. ३ सनकट्टीकी महिला श्रमिक अन्जली थरुनीले बताइन् ।

आर्थिक वर्ष २०७५/०७६ देखि पालिकाका ६ वटै वडामा शुरू भएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गेरुवा गाउँपालिकामा चालु आर्थिक वर्षमा २९ वटा कार्यक्रम अन्तर्गत ७९ जनाले रोजगारी पाएका छन् । आउँदो वर्षका लागि ९ सय ७३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिइसकेका छन् । गतवर्ष १ हजार चारसय ६८ जनाले आवेदन दिएका थिए । यस आर्थिक वर्षमा कार्यक्रम मार्फत ५२ लाख ५० हजार वढी रुपैया खर्च भएको रोजगार सहायक कैलाश लामिछानेले बताए ।

आर्थिक हिसाबले विपन्न घर परिवारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले घर व्यवहारका लागि अरूको भर पर्नु नपरेको, घरायसी आर्थिक समस्या सुल्झिनुका साथै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइ सरकारको अभिभावकत्वको अनुभूति गराएको रोजगार शाखाकी शाखा प्रमुख राज्यलक्ष्मी झाले बताइन् ।

बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले गाउँपालिकाभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसंग जोड्ने यो कार्यक्रम पहिलेभन्दा प्रभावकारी हुँदै गएको बताए ।

गरिबी न्यूनीकरण गर्न र वेरोजगार अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले एउटा इँट्टा थपेको छ । सामुदायिक पूर्वाधारका क्षेत्रमा काम हुँदा विकास निर्माणमा पनि टेवा पुर्याएको छ । कार्यक्रमले सिपविहीन आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई राज्यले न्यूनतम रोजगारी र प्राप्त पारिश्रमिकले गरिबी निवारण गर्न सहयोग पुगेको छ । समान कामका लागि समान पारिश्रमिक व्यवस्था भएकोले सामूहिक रूपमा काम गर्दा लैंगिक भिन्नता नभइ समानता ल्याउनमा समेत यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताइन् ।

गेरुवा गाउँपालिकाले प्रधानमन्त्री रोजगारका लागि योजना छनोट गर्दा पालिकाको आवश्यकता र उक्त कार्यक्रमको जनशक्तिले गर्न सक्ने कामअनुसार योजना पहिचान गर्ने गरेको छ । रोजगारमा संलग्न हुने जनशक्ति सबै सीपयुक्त र दक्ष नहुने भएकाले योजना पनि उनीहरूले सम्पन्न गर्न सक्ने खालकै छनोट गर्ने गरिएको पालिकाले जनाएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise