काठमाडौं : नेपालमा गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या बढ्दो छ । गृह मन्त्रालयका अनुसार ४ हजार ३५६ जनाले गैरआवासीय नेपाली (एनआरएनए) नागरिकता लिएका छन् । उनीहरूलाई निःशुल्क भिसा दिनेगरी अध्यादेश आएको छ । योसँगै एनआरएनए नागरिकता लिनेको संख्या थप बढ्ने अनुमान सरकारको छ ।
गैरआवासीय नेपाली नागरिकता लिनेहरूमा शहरबाट धेरै छन् । सबैभन्दा बढी काठमाडौंबाट जारी भएको छ । काठमाडौंपछि ललितपुर, कास्की, चितवन, भक्तपुर, झापालगायतका जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता जारी हुने संख्या अधिक छ ।
गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौंबाट एक हजार ५०० बढीले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । ललितपुरबाट ३९३, चितवनबाट २५८, कास्कीबाट २३९, भक्तपुरबाट १६८, मोरङबाट १५० जनाले एनआरएनए नागरिकता लिएका छन् । रूपन्देहीबाट १४८, झापाबाट १३८, काभ्रेबाट ८८, सुनसरीबाट ७६, गोरखाबाट ६५, मकवानपुरबाट ६४, गुल्मीबाट ६२, नुवाकोटबाट ५७, स्याङ्जाबाट ५६ र सोलुखुम्बूबाट ५५ जनाले एनआरएनए नागरिकता लिएका छन् ।
सरकारले २० असोज २०८० देखि एनआरएनए नागरिकता प्रदान गर्न थालको हो । यस्तो नागरिकता लिनेलाई नेपालमा लगानीका लागि सहज वातावरण बनाउने भन्दै सरकारले उनीहरूको मागअनुसार अध्यादेशसमेत ल्याएको छ । गत २९ पुसमा जारी भएको अध्यादेशले उनीहरूलाई १० वर्षसम्म निःशुल्क भिसा दिनेसहितका सहुलियत दिएको छ ।
हाल एनआरएन नागरिकता भएकाले विदेशी नागरिककै रूपमा भिसा शुल्क तिर्नुपर्ने व्यवस्था छ । यसलाई बदलेर सरकारले निःशुल्क भिसा दिनेगरी अध्यादेश ल्याएको हो ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरूले नेपालमा राजनीतिकबाहेकका अधिकार प्रयोग गर्न सक्छन् । उनीहरूले नेपालमा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउँछन् । यसअन्तर्गत नेपालमा लगानी गर्न, व्यापार व्यावसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाउँछन् ।
नेपालमा बैंक खाता खोल्न, विदेशी मुद्रामा कारोबार गर्नेगरी बैंक खाता खोल्न, लगानीका लागि खुल्ला गरिएका उद्योग व्यवासायका लगानी गर्न सक्छन् ।
यो अधिकार संविधानतः २०७२ सालमै गैरआवासीय नेपालीले पाएका थिए । २०७२ सालमा जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई सामाजिक, साँस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ ।
कानुन बन्न समय लागेका कारण ८ वर्षपछि ३० असोज २०८० देखि गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो ।
नागरिकतासम्बन्धी ऐनअनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ।
यो कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नाति–नातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन् ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट शपथ लिनुपर्ने हुन्छ ।
नागरिकता ऐनअनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिन सक्छन् । यस्तो निवेदनसँगै आफूले प्राप्त गरेको नेपाली नागरिकताको सक्कल प्रति साथमा बुझाउनुपर्छ ।
प्रमुख जिल्ला अधिकारीले नागरिकता त्यागसम्बन्धी सूचना दर्ता किताबमा राखेपछि नेपाली नागरिकता समाप्त हुन्छ । त्यसपछि गैरआवासीय नेपाली नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढ्छ ।
अघिल्लो पुस्ता नेपालको नागरिक रहेकाको हकमा गैरआवासीय नेपाली नागरिकता लिन चाहे अघिल्लो पुस्ताले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ ।