काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध सतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताएका छन् ।
बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा एमालेमाथि भइरहेको बताए ।
राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको उनको जिकिर छ । उनले नेकपा एमालेलाई नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक तथा व्यवहारिक अगुवाइ गर्ने पार्टीको रूपमा चित्रण गरे ।
मुलुकमा भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता र राष्ट्रहितको काम मन नपराउने शक्तिहरु अझैपनि सक्रिय रहेको उल्लेख गर्दै उनले यसप्रति सजग रहन सबैलाई आग्रह गरे ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै आत्मनिर्भरताको बाटोतर्फ डोहोर्याएको पनि दाबी गरे ।