काठमाडौं : भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अभ्ययनरत रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा भारतले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । नयाँ दिल्लीमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशी विद्यार्थीहरूको सुरक्षालाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई २ देशबीचको सम्बन्धको कडीको संज्ञा दिँदै प्रवक्ता जयसवालले नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणमा आवश्यक सबै कदम चाल्ने बचनबद्धता जनाए ।
केआईआईटीमा प्रकृतिको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती प्रकरणबारे पनि उनले पत्रकारहरूको प्रश्नको जबाफ दिएका छन् । ‘नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युमा दोषीलाई कानुनी कारबाही हुन्छ’, उनले भने ।
‘भारत सरकारले देशमा रहेका सबै विदेशी विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको छ । जहाँसम्म केआईआईटी घटनामा त्यहाँस्थित सरकार, प्रहरी र नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा छौं’, उनले भने, ‘घटनामा देखिएका मुख्य अभियुक्तसहितका आरोपीहरूलाई पक्राउ गरिएको छ । नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणका निम्ति भारत सरकारले आवश्यक सबै कदम चाल्ने छ ।’
घटनापछि उडिसा सरकारले मुख्य सचिव नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको पनि उनले बताए । समितिको प्रतिवेदन आएपछि दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता उनले भारत सरकारका तर्फबाट गरे ।
घर गएका नेपाली विद्यार्थीलाई कलेजमा फर्काउन उडिसा सरकारले नै पहल थालिसकेको जानकारी पनि उनले दिए । ‘उनीहरूको सुरक्षासहित अध्ययन अघि बढाउने कुराको पूर्ण प्रत्याभूति उडिसा सरकारले सुनिश्चित गर्ने बचन दिएको छ’, उनले भने ।
गत आइतबार केआईआईटीमा अध्ययनरत प्रकृतिको शंकास्पद् मृत्यु भएको थियो । उनले आत्महत्या गरेको बताइएको छ तर त्यही कलेजमा अध्ययनरत एडविक श्रीवास्तवले मानसिक यातना दिँदा घटना भएको उनका साथीहरूले बताएका छन् ।
अनुसन्धान तीव्र
छात्रावासमा भएको नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गर्ने कारबाहीका सम्बन्धमा अनुसन्धान तीव्र पारिएको छ ।
उडिसा सरकारको उच्चस्तरीय समितिले केआईआईटीका संस्थापक अच्युत सामन्तसँग शुक्रबार घटनाका विषयमा सोधपुछ गरेको छ । समितिले प्रमाणका रूपमा पर्याप्त कागजातहरू पनि झिकाएको छ । राज्य सरकारको गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहुको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ ।
समितिलाई आत्महत्याको परिस्थिति, संस्थानका अधिकारीहरूले गरेको मनमानी कारबाही, विद्यार्थीहरूको विशेष समूहलाई मात्र सूचना जारी गर्ने, उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने र अन्य सम्बन्धित मामिलाहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ ।
यसअघि समितिले केआईआईटीको पनि भ्रमण गरेको थियो । त्यस क्रममा समितिले केही नेपाली विद्यार्थीहरूसँग कुराकानी गरेको थियो ।
यसैबीच, उडिशा प्रहरीले नेपाली विद्यार्थीहरूमाथि आक्रमण गरेको आरोपमा केआईआईटीका थप ५ कर्मचारीलाई पक्राउ गरेको छ । योसँगै किट विवादमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ, जसमा एक इन्जिनियरिङका विद्यार्थी पनि छन् ।