२०८२ साउन २३ गते शुक्रवार / Aug 08 , 2025 , Friday
२०८२ साउन २३ गते शुक्रवार
Ads

फोर्स गाडी खरिद गर्दा व्यवसायीको बिचल्ली, कम्पनीसँग क्षतिपूर्ति माग

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते ११:४४
फोर्स गाडी खरिद गर्दा व्यवसायीको बिचल्ली, कम्पनीसँग क्षतिपूर्ति माग

काठमाडौँ : फोर्स गाडी खरिदबाट पीडित बनेका यातायात व्यवसायीहरूले आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. सँग क्षतिपूर्ति माग गरेका छन् । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा. लि. तथा फोर्स कम्पनीका गाडीहरू खरिद गरेका व्यवसायीहरूले विक्रेता कम्पनी आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. सँग क्षतिपूर्ति माग गरेका हुन् । 

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले व्यवसायीहरूलाई विश्वकै उत्कृष्ट इन्जिन प्रयोग भएको गाडी भन्दै फोर्स गाडी किन्न प्रेरित गरेको व्यवसायीले बताएका छन् । सुमो गाडीबाट यातायात व्यवसाय गर्दै आएका व्यवसायीहरू जर्मन कम्पनीको मर्सिडिज गाडीमा प्रयोग हुने इन्जिन प्रयोग भएको फोर्स गाडीले नेपालको जस्तो सुकै बाटोमा चलाउन सकिने र अरुभन्दा टिकाउ हुने भनेपछि उक्त गाडी खरिद गर्न राजी भएका थिए ।  तर कम्पनीले दावी गरेअनुसार इन्जिन र सर्भिस दुवै नभएको व्यवसायीहरूको आरोप छ ।
 
२०७३ सालमा दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा. लि. ले आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. सँग भद्र सहमति गरेर फोर्स गाडी भित्र्याएको थियो । कम्पनीले गाडी कच्ची सडकमा पनि राम्रोसँग चल्ने आस्वासन दिएको थियो तर कम्पनीले भने जस्तो कुनैपनि दावी नपुगेको व्यवसायीको आरोप छ । 

दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा. लि. का महासचिव देवान राईले २०७३ सालमा फोर्स गाडी खरिद गरेको तर एक महिनामै गुड्दा गुड्दै गाडीको इन्जिन एक्कासी सिज भएको बताए ।  उनले यसबारे जानकारी गराउँदा वारेन्टी भएकाले आत्तिनुनपर्ने आस्वासन कम्पनीले दिएको थियो । कम्पनीले नयाँ इन्जिन जडान गरिदिएको तर मर्मतपछि पनि गाडीले दावी गरेअनुसार काम गर्न नसकेको महासचिव राईले बताए । 

गुड्दा गुड्दै बीच बाटोमा पांग्रा खुस्किएर दुर्घटना भएको धेरै उदाहरण दिँदै कम्पनीले कमसल सामानलाई उत्कृष्ट भनेर बेचेको महासचिव राईको आरोप छ । सुमोलाई विस्थापित गरेर फोर्स भित्र्याएका व्यवसायीहरू अहिले मर्मत र किस्तामै भएको पैसा सकिसकेको बताउँछन् । महँगो मूल्यमा किनेर मर्मत गरिरहनुपर्दा व्यवसायीहरू गाडीको किस्ता तिर्न नसक्ने अवस्थामा छन् ।  

अहिले फोर्स गाडीहरू विस्थापित हुन लागिसकेको र भएको पनि मोडिफाई गरेको चलाउनुपर्ने बाध्यता रहेको व्यवसायीहरूको गुनासो छ । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा. लि. का अध्यक्ष हरिबहादुर राईले सरकारले यस बिषयमा गम्भीर भएर छानबिन गर्नुपर्ने बताए । उनले गाडीहरू थन्किएर बसेपछि यातायात व्यवसायी विस्थापित भएर विदेश पलायन हुनुपरेको भन्दै यसलाई रोक्न सरकारलाई अनुरोध गरेका छन् । 

आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफूहरूलाई ठगेको भन्दै व्यवसायीहरूले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कम्पनीसँग क्षतिपूर्ति मागसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले कम्पनीको ग्यारेजमा थन्किएर बसेको देवान राईसहित अन्य व्यवसायीहरूको गाडीको सम्पूर्ण हिसाब गरी आजसम्मको बैंकको साँवा-ब्याजसहित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।  

त्यस्तै फोर्स गाडीबाट पीडित बनेका अन्य सम्पूर्ण व्यवसायीको आर्थिक र मानसिक क्षतिको उचित मुल्यांकन गरी क्षतिपूर्ति दिन माग गरेका छन् । कम्पनीले सार्वजनिक रूपमा आफ्नो प्राविधिक त्रुटी स्वीकार गरी बजारमा रहेका अन्य गाडीहरूको व्यवस्थापन गर्नुका साथै राज्यका सम्बन्धित निकायले यस बिषयमा गम्भीर छानबिन गर्नुपर्ने यातायात व्यवसायीको माग छ । आफ्नो मागलाई कम्पनी र सरकारले गम्भीर रुपमा नलिए सम्पूर्ण यातायात व्यवसायी  एक भएर चरणबद्ध आन्दोलन गर्ने तयारी भएको महासचिव राइले जानकारी दिए । 


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise