सिरहा : सिरहामा छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले सिरहा नगरपालिका–९, गुलरिया चौक नजिकको बाँस झ्याङमा लागुऔषध सेवन गरिरहेको सूचना आधारमा चेकजाँच गर्दा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२२ का ३२ वर्षीय रोशन कुमार यादव रहेका छन् ।
उनको साथबाट १ ग्राम २६ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको छ । उनलाई सिरहा जिल्ला अदालतमा पेश गरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, नवराजपुर गाउँपालिका–५, सोनरपुर पोस्ट क्षेत्रमा इलाका प्रहरी कार्यालय झाझपट्टी र सशस्त्र प्रहरी बल बिओपी नवराजपुरको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २९३९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक धनगढीमाई नगरपालिका–१४ का ३९ वर्षीय भाइ काजी साही ठकुरीको हेल्मेटभित्र लुकाइएको सिमपेक्स नामक ५४ ट्याब्लेट बरामद गरिएको छ ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३० वर्षीय सञ्जय राउतको साथबाट समेत लागुऔषध फेला परेको छ । दुवैजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखी, सिरहा जिल्ला अदालतमा पेश गरेर ५ दिनको म्याद लिइ अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।