२०८२ चैत १६ गते सोमवार / Mar 30 , 2026 , Monday
२०८२ चैत १६ गते सोमवार
Ads

समृद्ध सन्धिखर्क नगरपालिका बनाउने लक्ष्य पूरा गर्छौं : नगरप्रमुख श्रेष्ठ

himalayanlife
सूर्यप्रसाद भुसाल
२०८२ साउन २३ गते २०:३१
Shares
समृद्ध सन्धिखर्क नगरपालिका बनाउने लक्ष्य पूरा गर्छौं : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । सन्धिखर्कमा आयोजित एक कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिका पशु र दुधमा आत्मनिर्भर भई आय–आर्जनमा समेत अगाडि बढेकोले समृद्ध र दिगो अर्थतन्त्र हासिल गर्ने दिशामा आफूहरू लागि परेको बताए ।

दुध उत्पादन गर्ने किसानलाई अनुदान, पशु रोग नियन्त्रण, डाले घाँस कार्यक्रम, पशु तथा कृषि प्रोफाइल तयारी, कृषि यन्त्रमा अनुदानलगायतका कार्यक्रम सञ्चालनमा रहेकाले सबै किसानहरू कृषि तथा पशुपालनतर्फ उत्साहित भएको उनले बताए । माटो परीक्षण, बीउ, विषादीको व्यवस्था तथा भू–उपयोग नीति पनि नगरपालिकाले अगाडि बढाएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विशेष गरी कृषिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे । रोजगारीसँग जोडिएर पूर्वाधार विकासको काम पनि सञ्चालन भइरहेको उनले बताए । शैक्षिक क्षेत्र सुधारका लागि विद्यालयहरूमा निरन्तर अनुगमन भइरहेको र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख अध्यापक तथा शैक्षिक व्यक्तित्वहरूसँग अन्तक्र्रिया गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । विषयगत रोस्टर शिक्षक तयार पारेर केही ठाउँमा परीक्षा लिएर त्यसको छलफलसमेत अगाडि बढाइएको उल्लेख गरे ।

स्वास्थ्य क्षेत्रमा दक्ष चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको र प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट समेत सेवा प्रवाह भइरहेको बताए । सन्धिखर्क नगरपालिकाले सबै वडाहरूका प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको र अब ती भवनहरूबाट सेवा दिन वडाहरू तयारी अवस्थामा रहेको जानकारी दिए । साथै, स्वास्थ्य चौकीहरूको निर्माण कार्यसमेत भइरहेको बताए ।

नगरप्रमुख श्रेष्ठले भने,‘कार्यालयबाट दिने कुनैपनि काममा राजनीतिक गन्ध आउनु हुँदैन । मान्छेहरू कुनै न कुनै राजनीतिक आस्थाका हुन्छन्, तर काममा त्यसको प्रभाव पर्नु हुँदैन । म जनभावना अनुसार दत्तचित्त भएर काम गरिरहेको छु ।’

उनले थपे, ‘इमानदार भएर काम गर्दा पनि कसैले राष्ट्रसेवक कर्मचारीलाई विनाकारण बदनाम गर्न खोजेमा म न्याय दिन कहिल्यै पछि हट्नेछैन ।’

नगरप्रमुख श्रेष्ठले अन्त्यमा जनताको अपेक्षा र आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर नगरपालिका अगाडि बढिरहेको स्पष्ट गरे । 

ताजा खबर

सम्बन्धित खबर