काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन केन्द्र(क्यूएए)को निर्देशकमा सह–प्राध्यापक डा.अच्युत अधिकारी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले खुला प्रतिस्पर्धाका आधारमा उनलाई निर्देशकमा नियुक्त गरेको हो । विश्वविद्यालयको रसायनशास्त्र केन्द्रीय विभागमा अध्यापनरत अधिकारीलाई चार वर्षका लागि केन्द्रको निर्देशकको समेत जिम्मेवारी सुम्पिएको हो ।
विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको शैक्षिक गुणस्तर सुनिश्चित गर्न तथा नियमन गर्न यो केन्द्रको मुख्य जिम्मेवारी हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नियामक निकायका रूपमा रहेको यस केन्द्रले विश्वविद्यालयमा गुणस्तर प्रत्यायन प्रक्रियालाई व्यवस्थापन गर्दै शिक्षण संस्थाहरूलाई आवश्यक मार्गनिर्देशन तथा मूल्यांकन गर्ने जिम्मेवारी वहन गर्दै आएको छ । त्रिवि अन्तर्गतका क्याम्पसहरू तथा शैक्षिक कार्यक्रमहरूको गुणस्तर मापन, सुधार, तथा प्रत्यायनको प्रक्रियालाई प्रभावकारी बनाउन केन्द्रले काम गर्ने भएकाले यसको नेतृत्व थप जिम्मेवारीपूर्ण मानिन्छ ।
डा.अधिकारीले पाकिस्तानको कराँची विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका हुन् । उनले केही वर्ष कराँची विश्वविद्यालयमै अध्ययन, अनुसन्धान तथा अध्यापन कार्यमा संलग्न रहेर महत्वपूर्ण अनुभव हासिल गरेका थिए । अन्तर्राष्ट्रिय स्तरका विभिन्न जर्नलहरूमा उनका दर्जनौँ अनुसन्धानमूलक लेख प्रकाशित छन् । उनका अनुसन्धानमूलक लेखहरू झन्डै ३५ सय पटक साइन्टिसन भएका छन् भने उनको नाममा एउटा प्याटेन्ट राइट पनि दर्ता छ । नेपालमा समेत लामो समयदेखि शिक्षण तथा अनुसन्धान क्षेत्रमा सक्रिय रहेका डा.अधिकारी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका पक्षमा निरन्तर कार्यरत छन् ।
नयाँ जिम्मेवारी सम्हाल्दै उनले त्रिवि अन्तर्गतका शिक्षण संस्थाहरूको गुणस्तर कायम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको अधिकतम उपयोग गर्ने बताए ।
उनले शिक्षाको स्तर वृद्धिका लागि नवीनतम सुधार कार्यक्रमहरू अघि बढाउने योजना बनाइसकेको उल्लेख गरे ।
उनले भने, ‘गुणस्तरयुक्त उच्च शिक्षा कुनै पनि विश्वविद्यालयको पहिचान र प्रतिष्ठासँग जोडिएको विषय हो । त्यसैले त्रिविको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियालाई थप प्रभावकारी बनाउने मेरो प्राथमिकता हुनेछ ।’
उनले गुणस्तर प्रत्यायनका मापदण्डहरूलाई प्रविधिमैत्री बनाउँदै शिक्षण संस्थाहरूलाई गुणस्तर सुधारमा सक्रिय रूपमा संलग्न गराउने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाए । ‘गुणस्तर प्रत्यायन भनेको कागजी प्रक्रिया मात्र नभई वास्तविक सुधारको आधार हुनुपर्छ,’उनले भने ।
डा. अधिकारीको अनुभव, अनुसन्धानगत क्षमता, तथा गुणस्तर प्रत्यायनको गहिरो समझका कारण उनको कार्यकालमा त्रिवि अन्तर्गतका क्याम्पसहरूमा गुणस्तरीय सुधार हुने विश्वास गरिएको छ ।
त्रिवि अनुगमन निर्देशनालयको उपनिर्देशकमा रैखोला र श्रेष्ठ
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अनुगमन निर्देशनालयको उपनिर्देशकमा डाक्टर पुष्करसिंह रैखोला र विकास कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले दार्चुलाका रैखोला र गोरखाका श्रेष्ठलाई उपनिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनीहरू त्रिविका सहप्राध्यापक हुन् ।
जापानको प्रतिष्ठित जेएएसएसओ छात्रवृत्तिमा समाज कल्याण विषयमा विद्यावारिधि गरेका रैखोलाले अनुगमन निर्देशनालयको सदस्य पदमा रहेर कामकाज गर्दै आएका थिए । महेन्द्र रत्न क्याम्पस ताहाचलमा लामो समय अध्यापनमा संलग्न उनी हाल शिक्षाशास्त्र संकाय केन्द्रीय विभागको दरबन्दीमा रही अनुगमन निर्देशनालयमा काजमा खटिएका थिए ।
त्यस्तै सहप्राध्यापक श्रेष्ठ पूर्वक्याम्पस प्रमुख हुँदै हाल अनुगमन निर्देशनालयको सदस्य हुन् । निर्देशनालयको रिक्त उपनिर्देशकहरूमा नियुक्तिका लागि छनोट तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो । आवेदन गर्नेहरूमध्येबाट परिषद्ले रैखोला र श्रेष्ठलाई छनौट गरेको हो ।