२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

जलस्रोत सिचाइ डिभिजन अर्घाखाँचीको भौतिक प्रगति ९७.९९ प्रतिशत

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ साउन २२ गते २०:२०
जलस्रोत सिचाइ डिभिजन अर्घाखाँचीको भौतिक प्रगति ९७.९९ प्रतिशत

अर्घाखाँची : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीको एक वर्षे प्रगति समीक्षा गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ९७ दशमलव ९९ प्रतिशत भौतिक र ८६ दशमलव १५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी गोष्ठीमा सार्वजनिक गरिएको हो ।

गोष्ठीमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सिँचाइको विकास बिना कृषक सफल हुन नसक्ने र खेतबारीमा खेती गर्न गाह्रो हुने भएकाले सबै तहका सरकारले सिँचाइ योजनाको निर्माणमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले गाउँटोलमा कुला निर्माण भएपछि युवायुवती स्वरोजगार बन्ने विश्वास व्यक्त गरे । कोइरालाले कृषि पेशालाई सबैभन्दा उत्तम पेशाको रूपमा स्वीकार गरी सबैले सम्मान गर्नुपर्ने धारणा राखे ।

डिभिजन कार्यालयका प्रमुख इन्जिनियर भेषराज भुसालका अनुसार जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लामा रहेको २६ हजार १ सय १३ हेक्टर खेतीयोग्य जमिनमध्ये २१ हजार २ सय ४७ हेक्टरमा खेती हुँदै आएको छ । बाँकी जमिनमा बसाइँसराइ, वन्यजन्तु तथा अन्य कारणले खेती हुन सकेको छैन ।

भुसालका अनुसार, ३ हजार १ सय १८ हेक्टरमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ भने ५ हजार ४ सय २६ हेक्टरमा मौसमी सिँचाइ सुविधा उपलब्ध छ ।

डिभिजन कार्यालयका लेखापाल शिवहरि खनालले समीक्षा कार्यक्रममा जानकारी गराउँदै आर्थिक वर्ष २०८०/८१ मा प्राप्त १७ करोड ८० लाख ७८ हजार रुपैयाँको बजेटमध्ये १५ करोड ३४ लाख ६ हजार रुपैयाँ अर्थात् ८६.१५ प्रतिशत खर्च भएको र ९७.९९ प्रतिशत भौतिक प्रगति हासिल भएको बताए ।

गत वर्ष सञ्चालन भएका १३३ सिँचाइ योजनामध्ये १२३ योजना सम्पन्न भएका छन् भने २ योजना क्रमागत (बहुवर्षीय) रहेका र ८ योजना कार्यान्वयनमा जान नसकेको जानकारी दिइएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयबाट ८६ वटा बाँध निर्माण, १५ दशमलव ८७ किमि पक्की कुलो निर्माण, ४ वटा पोखरी निर्माण, १९ हेक्टरमा थप सिँचाइ सुविधा विस्तार, ३ सय ९० हेक्टरमा सिँचाइ सुदृढीकरण, १ दशमलव ०१ किमि तटबन्ध, ४ दशमलव ३५ हेक्टर जमिन उकास, ३७ घर र ६१ हेक्टर जमिन सुरक्षित गरिएको प्राविधिक अधिकृत तथा सूचना अधिकारी रामजी भट्टराईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषिजन्य वस्तुको उत्पादन विना आर्थिक समृद्धि सम्भव नहुने बताए । उनले कृषकलाई सम्मान गर्न र कृषि पेशाप्रति समाजको दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले डिभिजन कार्यालयको काम प्रशंसायोग्य रहेको भन्दै नगरपालिकाले समन्वय गरी बाँझो जमिनमा पनि खेती सुरु भएको जानकारी गराए ।

कार्यक्रममा तोकिएको समयभन्दा छिटो र गुणस्तरीय रूपमा काम सम्पन्न गर्ने निर्माण व्यवसायी लुम्बिनी निर्माण सेवा (सन्धिखर्क–८), अर्घा कन्स्ट्रक्सन (सन्धिखर्क–१०), साथै ३६ वर्ष सेवा गरेर अनिवार्य अवकाश पाएका कार्यालय सहयोगी डम्बरबहादुर केसी र चौवाटार सिँचाइ योजनालाई सम्मान गरिएको थियो । उनीहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, कृषक, निर्माण व्यवसायी, सरोकारवाला तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । गोष्ठी डिभिजन प्रमुख इन्जिनियर भेषराज भुसालको अध्यक्षता र रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise