२०८२ साउन २३ गते शुक्रवार / Aug 08 , 2025 , Friday
२०८२ साउन २३ गते शुक्रवार
Ads

फोन ट्यापिङ गर्न खोज्दै सरकार, नागरिकमाथि अंकुश लगाउने प्रयास

shivam cement
मुकुन्द लामिछाने
२०८२ साउन २३ गते ०६:३०
फोन ट्यापिङ गर्न खोज्दै सरकार, नागरिकमाथि अंकुश लगाउने प्रयास

काठमाडौं : सरकारले नागरिकको गोपनीयतामाथि अंकुश लगाउने प्रयास गरेको छ । यस निम्ति ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वसाधारणको रायका लागि प्रकाशन गरेको विधेयकमा गुप्तचर निकायको क्षेत्राधिकार विस्तार गर्नेसम्बन्धी प्रस्ताव छ । क्षेत्राधिकार विस्तार गरेर अनुसन्धान महानिरीक्षककहरू अन्य माध्यमबाट सूचना संकलन गर्न नसक्ने बुझाइमा पुगे भने नागरिकको फोन र अन्य सञ्चारमा सञ्जाललाई समेत निगरानी र अनुगमन गर्न जान सक्ने व्यवस्था प्रस्तावित छ । 

प्रस्तावित विधेयकको दफा १५ मा सूचना संकलनसम्बन्धी विशेष व्यवस्था छ । 

‘अन्य माध्यमबाट सूचना संकलन गर्न सम्भव नभएमा र त्यस्तो सूचना तत्काल संकलन नगरेमा मुलुकलाई गम्भीर हानिनोक्सानी हुने कुरामा अनुसन्धान महानिरीक्षक विश्वस्त भएमा निजले कुनै संदिग्ध व्यक्ति, संघ, संस्थाबाट सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी वा अनुगमन गर्न वा इन्टरसेप्सन गरी त्यस्तो अभिलेखीकरण गर्न आफ्नो प्रत्यक्ष निगरानीमा मातहतको कुनै अधिकारीलाई लिखित रूपमा आदेश दिन सक्नेछ’ प्रस्तावित विधेयकको दफा १५ को उपदफा १ मा छ । 

यो दफामा प्रयोग भएको इन्टरसेप्सनको स्पष्टीकरण विधेयकमै राखिएको छ । स्पष्टीकरण दिँदै भनिएको छ, ‘यस दफाको प्रयोजनका लागि ‘इन्टरसेप्सन’ भन्नाले जुनसुकै प्रकारको सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकताअनुसार सूचना प्राप्त गर्ने कार्य सम्झनुपर्छ ।’ 

यो कार्य गर्नका लागि राष्ट्रिय अनुसन्धान विभागले अन्य सरकारी निकाय वा सार्वजनिक निकायमा रहेका कम्प्युटर डाटावेस प्रणालीलाई विभागको कम्प्युटर डाटावेस प्रणालीमा आबद्ध गरी पढ्न मात्र सकिनेगरी (रिड वन्ली) पहुँच प्राप्त गर्न सक्नेछ ।

अनुसन्धान महानिरीक्षकबाट भएको आदेशबमोजिम सम्बन्धित अधिकारीले सञ्चार अभिलेखीकरण गर्न सक्छ । तत्काल सञ्चार अभिलेख गर्ने आदेश दिँदा सम्बन्धित व्यक्ति वा संस्थालाई कुनै प्रकारको अवरोध नहुनेगरी अभिलेख गर्न सम्बन्धित अधिकारीलाई र त्यस्तो अधिकारीलाई सञ्चार इन्टरसेप्सन गर्ने काममा आवश्यक सहयोग गर्न सम्बन्धित सञ्चार सेवा सञ्चालक वा सो व्यवसायको धनी वा सम्बन्धित अन्य व्यक्तिलाई अनुरोध गर्न सक्नेछ ।

नागरिकको गोपनीयता र वैयक्तिक स्वतन्त्रतासँग जोडिएको फोन ट्यापिङ गर्ने प्रयास सरकारले पहिलोपटक गरेको होइन । यसअघि २०७६ सालमा समेत तत्कालीन सरकारले फोन ट्यापिङ गरेर नागरिकमाथि अंकुश लगाउने प्रयास गरेको थियो । त्यसबेला केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । नागरिकको अधिकार कुण्ठित पार्नेगरी कानुन बनाउन लागेको भनेर चौतर्फी विरोध भएपछि सरकार पछाडि  हटेको थियो । फेरि उनै ओली नेतृत्वको वर्तमान सरकारले नागरिकमाथि निगरानी गर्ने कडा व्यवस्था राखेर राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानसम्बन्धी विधेयक ल्याउन लागेको हो । 

ADV

सम्बन्धित खबर

Advertise