२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कांग्रेस शीर्ष नेताहरूबीच के-के विषयमा भयो छलफल ?

shivam cement
२०८२ साउन २३ गते १४:३४
Shares
कांग्रेस शीर्ष नेताहरूबीच के-के विषयमा भयो छलफल ?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग शुक्रबार साढे दुई घण्टा लामो बैठक गरेका छन् ।

बूढानीलकण्ठस्थित सभापति निवासमा बिहान १० बजेदेखि साढे १२ बजेसम्म चलेको बैठकमा मुख्य सचिव कृष्णप्रसाद पौडेल पनि सहभागी थिए । बैठकमा पार्टीभित्रको क्रियाशील सदस्यता नवीकरणमा देखिएको विवाद, १५औं महाधिवेशनको तयारी, अन्तिम पटकका लागि म्याद थपिएका सात भ्रातृ संस्थाको महाधिवेशन तथा जिल्ला–जिल्लामा देखिएका आन्तरिक विवादबारे केन्द्रित छलफल भएको महामन्त्री थापाले जानकारी दिए ।

बैठकमा चार मुख्य विषयमा सहमति बनेको छ ।

क्रियाशील सदस्यता विवाद समाधान: असोज मसान्तसम्म नवीकरणको समयसीमा तय भए पनि धेरै जिल्लामा विवाद झल्किएका छन् । यी विवाद समाधानका लागि आगामी सातादेखि जिल्लागत नेताहरूसँग काठमाडौंमा छुट्टाछुट्टै छलफल हुने भएको छ ।

१५औँ महाधिवेशनको प्रक्रिया: मंसिरमा कार्यकाल सकिँदै गर्दा महाधिवेशनको तयारीबारे छलफल भए पनि औपचारिक प्रक्रिया अझै सुरु भएको छैन ।

भ्रातृ संस्थाको महाधिवेशन: नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासंघ, नेपाल थारु सङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको महाधिवेशन गर्न निर्देशक समितिलाई कार्यादेश दिने सहमति भयो ।

जिल्लास्तरीय विवाद समाधान: सर्लाही, बारा, धादिङलगायतका जिल्लामा संगठनभित्रको गहिरो विभाजन अन्त्य गर्न शीर्ष नेतृत्वको प्रत्यक्ष पहल हुने भएको छ ।

मुख्य सचिव पौडेलका अनुसार, भ्रातृ संस्थाको महाधिवेशन गराउने निर्देशक समितिलाई टिओआर दिने निर्णय भएको छ । उनले जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिकामा परिमार्जन गरी पारित गर्ने निर्णय पनि बैठकमा भएको बताए ।

बैठकमा रूपन्देही–३ को उपनिर्वाचनबारे सामान्य छलफल भए पनि उम्मेदवारबारे कुनै नाम टुंगो लागेको छैन ।

तर राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको पदसम्बन्धी विवाद बैठकमा उठेन । बैठक पार्टीका आन्तरिक मुद्दामै केन्द्रित रहेको महामन्त्री थापाले बताए ।

सम्बन्धित खबर