काठमाडौं : भनिन्छ– अमेरिका विश्वका धेरैको सपनाको देश हो, जसका लागि संसारभरका मानिस अमेरिका जान मरिहत्ते गर्छन् ।
यो सपना पूरा गर्न हरसम्भव प्रयास गर्छन् र लाखौं, करोडौं खर्च गर्छन् । यसका लागि उनीहरू जुनसुकै जोखिम र खतरा उठाउन पनि पछि पर्दैनन् ।
त्यस्तै सपना पूरा गर्न विश्वका धेरै देशबाट अवैध रूपमा ‘सपनाको देश’ अमेरिका पुग्नेहरूको ताँती छ । तर, अमेरिका पुग्न भोगेका दुःख, कष्ट र अप्ठ्यारा अनि त्यहाँ पुगेर पनि भोगेको व्यथा होस् या त्यहाँबाट फर्काइएपछि भोगेको मानसिक र आर्थिक तनाव होस्, यसका पछाडि आफ्नै कथा छ ।
यसरी अमेरिकी सपनामा भुलेर त्यहाँ पुगेका ९ नेपाली बुधबार डिपोर्ट भएका छन् । आवश्यक काजगपत्र केही नभएको र अवैध बाटो भएर अमेरिका पुगेका उनीहरू अमेरिकी धर्ती टेक्दै त्यहाँको प्रशासनको नजरमा परेर अन्ततः घर फर्काइए ।
अवैधानिक रूपमा बसिरहेका उनीहरूलाई अमेरिकी सरकारले न्यु ह्याम्पसायर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चार्टर गरेर काठमाडौंसम्म पुर्याइदियो ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तनका थुप्रै संकेत देखिएका छन् । तीमध्येको एक हो आप्रवासन नीति । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ट्रम्पले आप्रवासन र सीमासम्बन्धी नीतिअन्तर्गत ‘अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सुरु गर्ने’ वाचा गरेका थिए ।
ट्रम्पले बाचाअनुरूपको कदम चालिसकेका छन् । उनले आफ्नो देशमा अवैध रूपमा रहेका आप्रवासीहरूलाई धमाधम स्वदेश फिर्ता पठाइरहेका छन् । ट्रम्प प्रशासनले कतिपयलाई चार्टर विमान त कतिपय व्यक्तिलाई नियमित उडानमार्फत स्वदेश फिर्ता पठाइरहेको छ ।
अमेरिकाले हालसम्म पटक–पटक गरेर अवैध बसेका ३५ नेपालीलाई फर्ता पठाइसकेको छ । यसअघि २७ जनालाई विभिन्न उडानमार्फत नेपाल फिर्ता पठाइसकेको छ ।
यसरी ९ जना फर्काइएका नेपालीमध्ये केहीलाई अमेरिकाको अध्यागमन हेर्ने अदालतले अवैध रूपमा बसोवास गरेको ठहर गर्दै निष्कासनको फैसला सुनाएको थियो भने केहीलाई अवैध रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।
सजिलो छैन बाटो
अवैध बाटो भएर अमेरिका पुग्नु सहज छैन । नेपालबाट अमेरिका पुग्न चुनौतीका हजारौं फाइला पार गर्नुपर्छ । अमेरिका जान प्रयोग हुने अवैध मार्ग, दलालले लिने पैसा र मृत्युको जोखिमको कथा बेग्लै छ ।
नदीनाला, जंगलमा लुक्दै महिनौं दिनको जोखिमपूर्ण यात्रा गरेर मेक्सिकोलगायत विभिन्न अवैध बाटोबाट अमेरिका पुग्ने गर्छन् । त्यो क्रममा बन्दुकधारी लुटेरा समूहको सामनासमेत गर्नुपर्ने हुन्छ ।
घना जंगल, भिर, हिलैहिलो, चिस्यान नै चिस्यान छिचोल्नुपर्छ । पानामा जंगलको भीमकाय यात्रा र घनघोर जंगलको यात्रा अत्यन्तै दर्दनाक हुने गरेको त्यस्तो मार्ग प्रयोग गरेर फकाईएका नेपालीहरू बताउँछन् ।
यसरी जानेहरूमा कसैलाई कसैको माया हुँदैन । कोही हिँड्न नसकेर बाटोमै छुट्दा जंगली जनावरको सिकार हुने पक्का जस्तै हुन्छ ।
त्यसैले, कति त अमेरिका पुग्नै सक्दैनन् । बाटोमै ज्यान गुमाउनुपरेको पीडादायी अनुभव उनीहरूको छ ।
यद्यपि, अमेरिका पुग्नुको एउटै लक्ष्य हुन्छ– सुखपूर्ण जीवन र सन्ततिको स्वर्णिम भविष्य । तर, त्यस्तै मीठो सपना बोकेर अवैध बाटोबाट आफ्नो भूमि छाडेकाहरूलाई ऋण र दुःखको झोलमा डुबेर फर्किनुपर्ने बाध्यबारी अवस्था छ ।
कसरी पुगे अमेरिका ?
ट्रम्पको आदेशअनुसार देश निकाला हुने नेपालीको संख्या ३७ छ । यसअघि २८ नेपाली काठमाडौं फर्किएका थिए । तर, अमेरिकी सरकारले नेपालीलाई नेपालमै ल्याएर छाडिदिएको यो पहिलो पटक हो ।
राष्ट्रपति जो बाइडेनको कार्यकालमा झन्डै ५ हजार नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए । तर, ट्रम्प राष्ट्रपति बनेपछि अप्रावासी नीतिमा कठोर बन्दै अमेरिकाले कागजपत्र नभएका अवैध आप्रवासीहरूलाई चरणबद्ध रूपमा सम्बन्धित देशहरूमा पठाउन थालेको छ । सन् २०१९ देखि २०२४ सम्म ३८९ नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएका छन् ।
डिपोर्ट भएर आएका नेपालीहरू ‘डंकी रुट’ अर्थात् अवैध बाटोबाट ५–६ महिनाअघि मात्र अमेरिका पुगेका हुन् ।
नेपाल आइपुगेपछि उनीहरूलाई अध्यागमन विभाग हुँदै नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको जिम्मा लगाइएको थियो । प्रहरीले उनीहरूसँग गरेको सोधखोजमा अवैध बाटोबाटै त्यहाँ पुगेका खुलेको छ । यति मात्र होइन, अमेरिका जान उनीहरूले ५० देखि ९० लाख रुपैयाँसम्म खर्च गरेका छन् ।
फर्किएका नेपालीहरूले प्रहरी समक्ष दिएको बयानअनुसार उनीहरू जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर अमेरिका पुगेका थिए । त्यहाँ पुगेलगत्तै कतिपय त समातिएका पनि थिए ।
उनीहरू काठमाडौंबाट दिल्ली हुँदै मध्यपूर्व, मध्यपूर्वबाट युरोप र युरोपबाट साउथ अमेरिकाको ब्राजिलसम्म पर्यटक भिसामा गएका थिए । ब्राजिलपछि उनीहरूलाई मेक्सिकोसम्म पुर्याइएको थियो ।
त्यसपछि उनीहरू अमेरिकाको लस एन्जलस र टेक्सस छिरेका थिए । यसअघि पनि अमेरिकाबाट फर्काइएका नेपालीहरू त्यसरी नै दलाललाई लाखौं रुपैयाँ बुझाएर अमेरिका पुगेको प्रहरीको भनाइ छ ।
के हो प्रवेश बाटो ?
विश्वका कुनै पनि देशबाट अमेरिका प्रवेश गर्न दक्षिण अमेरिकाको ब्राजिल, बोलिभिया, सुरिनाम, गुयना, पेरु र चिलीमध्ये कुनै एक देशमा हवाईमार्गबाट जानुपर्छ । त्यहाँ रहेका दलालहरूले अत्यन्तै जोखिमका साथ स्थल वा जलमार्गमार्फत मेक्सिको पुर्याउँछन् ।
मेक्सिको अमेरिका प्रवेश गर्ने एक मात्र प्रवेश मार्ग हो । यी देशहरू पुगेपछि स्थानीय एजेन्टले पैसा लिएर स्थानीय नाममा नक्कली पासपोर्ट बनाइदिन्छन् ।
यसरी अमेरिका छिर्ने सपना बोकेकाहरूलाई बस, ट्रक र कन्टेनरमा राखेर मेक्सिको पुर्याइन्छ । ९८ प्रतिशत अप्रावासीहरू यसरी नै अमेरिका प्रवेश गर्छन् ।
बाटोमा रुट पर्ने हरेक देशका स्थानीय दलालहरूसँग पहिला नै सेटिङ भएको हुन्छ । उनीहरूले आफ्नो देशको सीमा कटाएर अर्को देशको सीमासम्म छाडिदिन्छन् । त्यहाँबाट अर्को देशका दलालले जिम्मा लिन्छन् । त्यसपछि क्रमशः अर्को देशका दलालले यो काम गर्छन् ।
नेपालबाट हिँडेका व्यक्ति विभिन्न देशका दलालहरूको भर पर्दै अमेरिका प्रवेश गर्छन् । ट्रान्जिट, भिसा र अन्य प्रक्रियाको सेटिङ पनि दलालले नै मिलाइदिन्छन् । दलालहरूले खानपान र बासको व्यवस्था मिलाउँछन् ।
धेरै नेपाली, भारतीय, बंगलादेशीहरू यही अबैध बाटो भएर सपनाको देश अमेरिका पुग्छन् । अमेरिका पुग्न कोलम्बियाको घनघोर जंगल पार गर्नुपर्छ । कोलम्बियाको नर्जन जंगलको ४ दिनको पैदल यात्रापछि पानामा पुगिन्छ ।
जंगलको बाटो भएर जाँदा कतिपयले बाटोमै प्राण त्याग्छन् । तर, अलि खर्च गर्नेहरूलाई हवाईजहाज र हेलिकोप्टर चार्टरको व्यवस्था दलालहरूले गरिदिन्छन् ।
अवैध बाटो भएर अमेरिका जानेहरूमा दक्षिण एसियामा भारतीय सबैभन्दा धेरै छन् । दोस्रोमा बंगलादेशी छन् भने तेस्रोमा नेपाली छन् ।
पाइला–पाइलामा मृत्यु
अमेरिका पुग्न पानामाको जंगल पार गर्नुपर्छ । घना जंगल, जताततै भिर, हिलैहिलो, चिस्यानको बाटो हुँदै जंगल पार गर्नुपर्छ । त्यसमाथि दिउँसो सुरक्षाकर्मीले पक्रर्ने डर र राति हिँड्नुपर्ने बाध्यताबाहेक अरू कुनै विकल्प रहँदैन । जंगली जनावरको आक्रमणको त्रास त छँदै छ ।
त्यसरी बाटो प्रयोग गरेर अमेरिका पुगेका एक नेपालीले भने, ‘त्यहाँ हिँड्ने बाटो हुँदैन, अनुमानका भरमा झार पन्छाउँदै हिँड्नुपर्छ । बाटोमा कसैले रूखमा कपडा बाँधिदिएका हुन्छन्, कसैले लट्ठीका टुक्राहरू, चाउचाउका खोलहरू राखिदिएका हुन्छन् । त्यही पछ्याउँदै अघि बढ्नुपर्छ ।’
उनको बुझाइमा पानामा जंगलको यात्रा पाइलैपिच्छे मृत्युको यात्रा हो । समयमै बाटो भेट्टाइएन भने रासन सकिएर बाटोमै ज्यान गुमाउनुपर्छ । लगातार भोकै, प्यासै हिँडाइले खुट्टा पूरै सुन्निने गरेको ती नेपालीले पीडादायी अनुभव सुनाउँछन् ।
जंगलमा लगातारको हिँडाइपछि बन्दुकधारी लुटेरा समूहको फेलामा पनि परिन्छ । लुटेराहरूले जुत्ता, कपडा, मुखभित्र पैसा लुकाएको छ कि भनेरसमेत खानतलासी गर्छन् ।
फर्कंदा घर न घाट
अमेरिकाबाट डिपोर्ट भएर फर्किएकाहरू घर फर्किसकेपछि अवस्था झनै दयनीय बनेको छ । फर्कंदा उनीहरूसँग जाँदाको पीडा मात्र हुँदैन, लागेको ऋण दोब्बर भइसकेको हुन्छ । उनीहरू आर्थिक र मानसिक समस्यामा परेका थुप्रै उदाहरण छन् ।