२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

पर्यटकको पर्खाइमा मिक्वाखोको लामपोखरी

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते ११:३५
पर्यटकको पर्खाइमा मिक्वाखोको लामपोखरी

ताप्लेजुङ :  मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो ।

ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी फूल तथा पोखरीहरूको अवलोकनका लागि लादेन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् । 

यस क्षेत्रमा प्रत्येक वर्ष जडीबुटी सङ्कलन गर्ने मिलन लिम्बूका अनुसार हरियाली घाँसेमैदानमा रहेको लामपोखरी यस क्षेत्रकै ठूलो पोखरी हो । यहाँका  पोखरी हेर्दा अरुको तुलनामा लामपोखरी ठूलो देखिए पनि यस पोखरीको अध्ययन, अनुसन्धान कुनै निकाय गरेको छैन । यो पोखरीसँग धेरै किंवदन्ती कथासँग जोडिएको मिक्वाखोला गाउँपालिका–५ का वडा सदस्य तथा स्थानीय तोप्ला शेर्पाले बताए । यस पोखरीलाई त्यहाँको स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी भन्ने गरेको शेर्पाले बताए । यहाँ पुग्ने जोकोहीलाई यस पोखरीले लोभयाउने गर्छ । 

शेर्पा समुदायका अनुसार पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरीको वरिपरि हरियाली दृश्यले यो क्षेत्र झनै सुन्दर देखिन्छ । मिक्वाखोला–५ सिम्बुकका पान्दे शेर्पाका अनुसार पोखरी अवलोकन गर्न आउने पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिने र तस्बिर कैद गरेर फर्कने गरेका छन् । 
 
यस क्षेत्रको प्रवर्द्र्धनका लागि सरोकारवालाले अहिलेसम्म खासै योजना बनाएको देखिँदैन । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकलाई लेक लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको स्थानीय बताउँछन् । यो क्षेत्र अवलोकन गर्न एक साता लाग्छ । मानव बस्ती नभएकाले बस्नका लागि याकगोठ र भेडीगोठको भर पर्नुपर्ने मिक्वाखोला–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो । केही ठाउँमा भने यहाँका समुदायले आफ्ना आफन्तको सम्झनामा धर्मशाला पाटी बनाएका छन् । आवश्यक पर्ने खाद्य सामग्रीसमेत आफैँले जोहो गरेर लैजानु पर्छ ।
 
पछिल्लो समयमा गाउँपालिकाले  यस क्षेत्रको प्रवर्द्धनमा चासो देखाउन थालेको छ ।  चालु आर्थिक वर्षमा यस क्षेत्रको प्रचारप्रसार गर्न बजेट विनियोजन गरिएको उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटक यहाँ पुग्न थालेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise