२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

श्रमाधान रोजगार मेलामा १८ हजारले दिए रोजगारीको आवेदन

ADV
२०८१ असार १७ गते ०६:५५
श्रमाधान रोजगार मेलामा १८ हजारले दिए रोजगारीको आवेदन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’मा १७ हजार ९ सय २१ जनाले रोजगारीका लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो । 

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले ४१ हजार ३ सय २५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गरे । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७ सय ८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्रसहितका ३ सय २२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए । 

मेलामा विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३ सय ३५ संघ संस्थाहरुसँग सहकार्य गरिएको मेलाका संयोजकसमेत रहेका रिजालले बताए । उनका अनुसार मेलाको कूल बजेट ९३ लाख ६ हजार ९ सय ६३ रहेकोमा ८५ लाख ३३ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको छ । 

पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’मा रोजगारदाताले प्रतिबद्धता जनाएअनुसार रोजगारी प्रदान भए–नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए । ‘मेला मात्रै सम्पन्न भयो, तर रोजगारदाताले प्रतिबद्धता जनाएअनुसारको युवालाई रोजगारी दिए नदिएको विषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’ उनले भने । रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए–नपाएको मन्त्रालयले जानकारी लिनेछ । 

मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सात वटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो । मेलामा सीप विकास कार्यशालाहरु, नेटवर्किङ सत्रहरु, स्टलहरु र रोजगारीका अवसरहरुका प्यानल छलफलहरु सञ्चालन गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise