तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि मुलुकको मुख्य एजेण्डा नै राजावादी गतिविधि बन्न पुगेको छ । विवादित ब्यापारी दुर्गा प्रसाईँ नेतृत्वमा १५ फागुनमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । प्रदर्शनका क्रममा टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् । प्रदर्शनकारीले सवारी साधन, आमसञ्चार माध्यम, राजनीतिक दलका कार्यालय लगायतमा आगजानी गरेका छन् । भाटभटेनीमा लुटपाट भएको छ । स्थिति सामान्य बनाउन गृह प्रशासनले कफ्र्यू लगाउनु परेको थियो । सडकमा सेना उतारेर परिस्थिति सामान्य बनाइएको छ । यो हिंसात्मक कार्यको जिम्मा पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने दलहरूको निष्कर्ष छ । उनीहरुले अलगअलग बक्तव्य जारी गरेर पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा हिंसात्मक गतिविधि भएको उल्लेख गरेका छन् ।
पूर्वपञ्चहरुको राप्रपाले भने यो घटनामा पूर्वराजालाई जोड्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ । पार्टी बैठक राखेरै राप्रपाले पूर्वराजालाई राजनीतिक गतिविधिमा तान्न खोजिएको र त्यस्तो नगर्न आग्रह गरेको छ । यद्यपि राप्रपाले पनि उक्त प्रदर्शन हिंसात्मक बनेको स्वीकारेको छ । हिंसात्मक र अराजक प्रदर्शनमाथि निष्पक्ष छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्न राप्रपाले माग राखेको छ । राप्रपा सहित अरु दलहरुले पनि छानबीन समितिको माग राखिरहेका छन् । तर गणतन्त्र पक्षधर दलहरू र सरकार भने छानबीन आयोग गठन भन्दा पनि त्यो प्रदर्शनको नेतृत्व गर्नेमाथि कारबाही गर्नेतिर लागेका छन् । दुर्गा प्रसाईँ फरार भएपनि राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ परेका छन् । आन्दोलन गर्न भनेर गठित समितिका संयोजक नवराज सुवेदीलाई नजरवन्दमा राखिएको छ । अरु थुप्रै पक्राउ परेका छन् ।
घटनाक्रमले यो प्रदर्शनलाई नियन्त्रणमा लिने सरकारको नियत देखिन्छ । प्रदर्शनकै क्रममा पनि प्रहरी नियन्त्रण भन्दा बाहिरको परिस्थिति देखिनुलाई राप्रपा सहित शक्तिले शंका गरेका छन् । कुनै पनि शक्ति र आवाजलाई निषेध गर्नतिर सरकार लागेको हो भने त्यो गलत हो । वर्तमान व्यवस्था र संविधानले हरेक नागरिकलाई आफ्नो कुरा राख्न पाउने अधिकार दिएको छ । संवैधानिक अधिकार अनुसार राजतन्त्रकै पक्षमा जनमत निर्माण गर्न पनि छुट छ । तर नागरिकको आवाज राख्ने विधि शान्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छ । तीनकुनेमा जस्तो गतिविधि भए, त्यो शान्तिपूर्ण नभएर हिंसात्मक छ । दुर्गा प्रसाईंकै अभिव्यक्ति पनि हिंसा भड्काउने प्रकृतिकै छन् । हिंसालाई साथ दिन मिल्दैन । जिम्मेवार निकायले यसतर्फ ध्यान दिन जरूरी छ ।