काठमाडौं : वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिले फठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई मजबुत बनाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा रेमिट्यान्स साढे १० खर्बभन्दा बढी भित्रिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । नेपालबाट रोजगारीका लागि देश छाड्नेको संख्या बढ्दै जाँदा नेपाल आउने रेमिट्यान्ससमेत बढिरहेको छ ।
यस्तै, चालू आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । चालू अर्थिक वर्षको ८ महिनमाा १८ दशमलव शून्य प्रतिशतले कुल विदेशी विनिमय सञ्चिति बढेको छ ।
राष्ट्र बैंकमा रहेको विदेशी सञ्चितिले १७ दशमलव २ महिनाको वस्तु आयात र १४ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा छ ।
नेपालमा कर्जा प्रवाहसमेत बढ्दो छ । निजी क्षेत्रमा ३ खर्ब ४ अर्ब ८२ करोड प्रवाह भएको छ । निजी क्षेत्रमा जाने कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६ दशमलव ३ प्रतिशत, विकास बैंकहरूको २ दशमलव १ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५ दशमलव ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
८ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९ दशमलव ३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९ दशमलव ५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४ दशमलव ४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७ दशमलव ८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८ दशमलव शून्य प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६ दशमलव ७ प्रतिशतले बढेको छ ।
अर्थतन्त्रमा सुधारको संकेत देखिने वैदेशिक व्यापारमा समेत वृद्धि भएको छ । चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब ५८ अर्ब १७ करोड कुल वस्तु निर्यात भएको छ । यो ५७ दशमलव २ प्रतिशतले वृद्धि हो ।
यस्तै, राष्ट्र बैंकको तथ्यांकले फागुनमा महँगी दर चालू आर्थिक वर्षको सबैभन्दा कम भएको छ । फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७५ प्रतिशत छ ।