२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

चिया टिप्दै कूटनीतिज्ञहरू

draupadi film
जानकी पाठक
२०८२ वैशाख २ गते ०६:२०
चिया टिप्दै कूटनीतिज्ञहरू

इलाम : चिया बगान, चियाबारीको हरियाली, चियाका पत्ताहरूले आकाश ताकिरहेको दृश्य अनि नीलो आकाशमुनि हरियो धर्तीको फाँट । 

पहाडका हरियालीले ढाकिएका चियाबारीमा जानु आफैंमा रोमाञ्चक क्रियाभन्दा कम होइन, जहाँ चियामा नवआगन्तुक मुनाहरूले लोभ्याइरहेका हुन्छन् ।

यही रोमाञ्चकताको अनुभव नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूले लिएका छन्, जहाँ उनीहरू हरित प्रकृतिको काखमा लुटपुटिए ।

उनीहरूले चिया बगानको सौन्दर्य मात्र होइन, सजीव प्रकृतिका रमणीय पलको पनि साक्षात्कार गर्न पाए ।

विदेशी कूटनीतिज्ञहरूलाई हरियालीसँग साक्षात्कार गराउने अवसर परराष्ट्रमन्त्री डा. आरजु राणाले जुराइदिएकी हुन् ।

नयाँ वर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री राणाको पहलमा १५ देशका राजदूत एवं कूटनीतिज्ञहरू इलाम पुगेका छन् । परराष्ट्र मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरू इलाम पुगेका हुन् ।

इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीट्जल्यान्ड, थाइल्यान्ड, अस्टे«लिया, फ्रान्स, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसिमोडका राजदूत सहभागी छन् । 

आइतबार इलामको कन्याम पुगेर साँस्कृतिक पहिरनसहित घोडा सवार गरेका उनीहरूले सोमबार श्री अन्तु भ्रमण गरे । सोमबार अन्तुडाँडामा सूर्योदय दृश्यावलोकन गरेका उनीहरूले अन्तु पोखरीमा डुंगा सयर पनि गरे ।

डुंगा सयरपछि चियाबारीमा उनीहरूले मौलिक पारामा चिया टिपेर मनोरञ्जनसमेत लिए । डाँडामा चिया टिपेर चोयाको डालोमा राखेर रमाइलो गरिरहेका उनीहरूले नेपालमा चिया पर्यटनको चर्चासमेत गरेका छन् । 

सबै राजदूतहरूले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए । 

उनीहरूलाई चिया, दूध, अलैंचीलगायत स्थानीय उत्पादनसमेत चखाइएको छ । चियाको बोटमै आएर टिप्न र चाख्न पाउँदा आनन्द अनुभूति भएको अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले बताए ।

‘सबै राजदूतहरूले फरक अनुभव लिए । नेपालीहरूले चिया टिप्ने शैली उनीहरूले बुझ्ने मौका पाए । चिया कसरी तयार गरिन्छ भन्ने जानकारीसमेत लिए’, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने । 

सूर्योदयका नगर प्रमुख रणबहादुर राईले राजदूतहरूले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरूलाई नै कोसेलीस्वरूप पठाउने घोषणा पनि गरे । इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको हो ।

अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रमअन्तर्गत अन्तुमै चिया टेस्टिङ पनि गराइएको छ । सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलले विभिन्न १६ जातका चिया टेस्टिङ गराएको हो ।

नेपाली चियाका विभिन्न जात चखाएर नेपाली चिया विश्व बजारमा प्रवर्द्धन गर्नका लागि चिया टेस्टिङको कार्यक्रम राखिएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए । 

चिया टेस्टिङसँगै चियाका प्रकारका बारेमा जानकारी गराइएको थियो । ब्ल्याक टी, अर्थोडक्स ग्रिन टी, उलङ टी, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नवीन कोइरालाले जानकारी दिए ।

मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रमअनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो ।

उनीहरूले कन्यामको चिया बगानमा जातीय पहिरन लगाएर घोड सवार गरे । मन्त्री राणासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटो सुटसमेत गरे । होमस्टे एसोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री राणा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका थिए ।

स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भीड लाग्ने अन्तु र कन्याममा राजदूतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगर प्रमुख राईको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise