
काठमाडौं : केही वर्षयता व्यवसायी विनोद चौधरीको व्यस्तता चौधरी ग्रुपभन्दा ज्यादा राजनीतिमा बढेको छ । प्रतिनिधि सभा विघटन नहुँदो हो त उनी संसद्तिरै भेटिन्थे । ६० को दशकसम्म अत्यधिक व्यस्त व्यवसायी चौधरीलाई फुर्सद भने अरू कारणले होइन, आफ्नै सन्तानहरूले दिएका हुन् ।
देशकै लिडिङ औद्योगिक प्रतिष्ठान छोराहरूको काँधमा सुम्पेर उनी राजनीतितिर लम्केका छन् । अहिले चौधरीको सक्रियता व्यवसायमा कम, राजनीतिमा ज्यादा देखिन्छ । उनी दुईपटक समानुपातिक सांसद् हुँदै २०७९ को आमचुनावमा प्रत्यक्ष चुनाव लड्न नवलपुर पुगे । नवलपुरमा गाउँबस्ती पुगेर झुपडीमै खाना खाए, मतदाता रिझाए । अनि विकास र समृद्धिको सपना बाँडेर सहजै चुनाव पनि जिते । कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य जितेर कोषाध्यक्ष पनि भए । नेपालका एक मात्र डलर अरबपतिले व्यवसायमा पाएको यो फुर्सदका पछाडि पुस्तान्तरणबाहेक अरू खास कारण छैन । व्यवसाय धान्न नयाँ पुस्ता अघि बढिसकेकैले सम्भव भएको हो । उनका छोराहरू वरुण, निर्वाण र राहुलले अहिले सिजी कम्पनी अघि बढाइरहेका छन् ।
हजुरबुवाले सानो व्यापार गरेको व्यवसायी अहिले नाति पुस्तासम्म आउँदा नेपालको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान बनिसकेको छ । चौधरी घरानाको नयाँ पुस्ता विदेशमा पढेर पनि स्वदेशमै फर्केर आफ्नो हजुरबुवा र बुबाले अघि बढाएका उद्योग सम्हालेका छन् । नयाँ पुस्ताको नेतृत्वले ती उद्योगमा नयाँ ऊर्जा पनि प्रदान गरेको देखिन्छ ।
१९९० सालको महाभूकम्पअघि जिजुबुवा भुरामल चौधरीको कपडा पसल थियो । हजुरबुबा लुनकरणदास चौधरीले नेपालमा जुट व्यवसायमार्फत चौधरी गु्रपलाई अघि बढाए । विनोद चौधरी हुँदै अहिले बहुर्राष्ट्रिय कम्पनी बनेको सिजीको नेतृत्व नाति पुस्ताले गरिरहेको छ ।
सिजी मात्र होइन, देशको अर्थतन्त्र धानिरहेका ठुला औधोगिक घरानामा नयाँ पुस्ताको उदय भइसकेको छ । अघिल्लो पुस्ताभन्दा यो पुस्ता विविध कारणले भिन्न छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षा र नयाँ प्रविधि लिएर स्थापित प्रतिष्ठान सम्हाल्न आएको यो पुस्तासँग नयाँ सोच र उत्साह पनि देखिन्छ । विदेशबाट उच्च शिक्षा र ज्ञान लिएर यो पुस्ता स्वदेशमै लगानी विस्तारमा जुटेको छ ।
तुलनात्मक रूपमा छोटो समयमै ठुलो व्यावसायिक छलाङ मारेको आइएमई गु्रपको नेतृत्वदायी भूमिकामा पनि नयाँ पुस्ता आइसकेको छ । अथक मेहनतले दुई दशकमै ठुलो व्यावसायिक फड्को मारेका चन्द्रप्रसाद ढकालको आइएमई ग्रुप अग्रणी व्यावसायिक प्रतिष्ठान भइसकेको छ । बाग्लुङको सामान्य परिवारमा जन्मिएका ढकालले २०४५ सालमा वाणिज्य बैंकमा जागिर छोडेर व्यवसायमा लागेयता कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । ढकाल अहिले निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् । अचेल उनको धेरै समय व्यवसायीका समस्या सुन्ने र निजी क्षेत्रको हित प्रवर्धनमा खर्च हुन्छ । देशकै अग्रणी प्रतिष्ठान सञ्चालकका लागि त्यसरी समय निकाल्न सहज हुँदैन । तर ढकाल भने ढुक्क छन् किनभने कम्पनीको नेतृत्व लिन उनका छोराहरू निशान र सचिन आइसकेका छन् । निशानले अटोमोबाइल कम्पनी हेर्छन् भने सचिनले खेलकुद, होटल तथा हस्पिटालिटी क्षेत्रका व्यवसाय हेर्ने गरेका छन् । उनका दुवै छोरा विदेशमा पढेर स्वदेशमा व्यवसाय गर्न फर्किएका हुन् । निशान र सचिन दुवै मेहनतका साथ कम्पनी अघि बढाइरहेका छन् । सचिन भन्छन्, ‘पक्कै पनि हामी नयाँ ढंगले जान खोजिरहेका छौं । मेहनत गरिरहेका छौं ।’
बाबुको व्यवसायलाई निरन्तर दिँदै आएका नेपाल उद्योग वाणिज्य महासंघकै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलाई पनि नयाँ पुस्ताले सघाइरहेको छ । अन्जनका बुबा गणेशबहादुर श्रेष्ठ व्यावसायिक समूह लक्ष्मी ग्रुपका अध्यक्ष हुन् । गणेशले आफ्नो श्रीमती लक्ष्मीको नामबाट लक्ष्मी ग्रुप अघि बढाएका हुन् । पोखरामा लक्ष्मी मिठाई भण्डारबाट सुरु भएको उनको व्यवसायमा अहिले नाति पुस्ताले नेतृत्व गरिरहेको छ । लक्ष्मी ग्रुप अहिले अटोमोबाइल्स, डन्डी, स्टिल, प्लाटिक, सुजल डेरी उद्योग सञ्चालित छन् । पारिवारिक व्यवसायका रूपमा लक्ष्मी गु्रप गणेशबाट छोराहरू सुनिल श्रेष्ठ, अन्जान श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठ हुँदै नाति पुस्तामा आइसकेको छ । हजुरबुवाले सुरु गरेको व्यवसायलाई अघि बढाउन अञ्जनका छोराहरू अनुभव र अनुकूल आइसकेका छन् ।
नेपालमा केही हँुदैन भनेर लगानीको सट्टा विदेश जाने पुस्ता आफंै स्वदेशमा लगानी विस्तारमा जुट्न थालेको छ । त्यसमा धेरै व्यावसायिक घरानाका युवा छन् । पारिवारिक व्यवसायबाट प्रगति गरेका अधिकांश अहिले देशकै प्रतिष्ठित व्यावसायिक गु्रप बन्न सकेका छन् । गोल्यान ग्रुपले नेपालमा ६० वर्षदेखि व्यवसाय गरिरहेको छ । कपडा उद्योगबाट व्यवसाय थालेको यो समूहको सुरुवात नै रियलान्यस स्पिनिङ मिल्सबाट भएको हो । यस्तै, अहिले होटल, ऊर्जा, कृषि, अपार्टमेन्ट, बैंक तथा वित्तीय संस्थासम्म लगानी गरिरहेको छ । सोहनलालले सुरु गरेको व्यवसाय पवन हँुदै छोरा अक्षय गोल्यानसम्म आइपुगेको छ । गोल्यान ग्रुपको नेतृत्व ३७ वर्षीय अक्षयले लिइरहेका छन् । उनी अहिले गु्रपका प्रबन्ध निर्देशक हुन् ।
अर्को औद्योगिक घराना पञ्चकन्या ग्रुपको नेतृत्वमा पनि पुस्तान्तरण देखिएको छ । इलाममा किराना पसलबाट सुरु भएको पञ्चकन्या ग्रुपको यात्रा ५ दशकसम्म पारिवारले नेतृत्वमा चलिरहेको छ । ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठका नाति पुस्ताले अहिले कम्पनी हाँकिरहेको छ । रामलाल गोल्छाले सुरु गरेको गोल्छा ग्रुपसमेत छोराहरू हंसराज र हुलासचन्द्रले अघि बढाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रहेका शेखर गोल्छा हँुदै गोल्छा ग्रुपको नेतृत्व अहिले छोरी सीमा गोल्छा आइपुगेको छ ।
१ सय ३० वर्ष पुरानो व्यावसायिक घराना केएल दुगड ग्रुपमा समेत नयाँ पुस्ताले कम्पनी हाँकिरहेको छ । किशनलाल दुगड सुरु गरेको उद्यम यात्रामा खाद्य उत्पादनमा छलाङ नै मारेको छ । केएल दुगडले खाद्यान्न, तेल, अन्न, मसला, प्याकेजिङ, निर्माण, बैंकिङ र जलविद्युत् क्षेत्रमा विस्तारित छ । प्रबन्ध निर्देशकका रूपमा समूहको नेतृत्व कुमुद दुगडले गरिरहेका छन् । नयाँ पुस्ताका उद्यमीका रूपमा कुमुदका छोरा सौरभ दुगडले नेतृत्वदायी भूमिकामा छन् ।
नेपालको हवाई क्षेत्रमा बुद्ध एयरले हवाई क्षेत्रलाई नै स्थापित बनाएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अहिले बुद्ध एयरको व्यवस्थापनमा नयाँ पुस्तालाई अघि बढाएका छन् । बस्नेतले दुई छोरी आरजु र आस्थालाई नेतृत्वमा व्यवस्थापकीय नेतृत्वमा ल्याएका छन् । बुद्ध एयरको लिडिङ कम्पनीका रूपमा नयाँ पुस्ताले नेतृत्व गरिरहेका छन् ।
नेपाल ज्योति गु्रप, वैद्य ग्रुप, एसजी ग्रुप, केएमजी गु्रप, साखः गु्रप, विशाल ग्रुप, शारदा ग्र्रप, खेतान गु्रप, त्रिवेणी ग्रुप केएल दुगडदेखि भाटभटेनी र बुद्ध एयरलगायतका व्यावसायिक प्रतिष्ठानमा नयाँ पुस्ता देखिएको छ । उद्यमशिलतामा नयाँ पुस्ताको प्रवेश धेरै रहेको नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरे बताउँछन् । त्यसो त पुर्ख्यौली पेसा संसारभरकै अभ्यास हो । तर पछिल्लो पुस्तान्तरणले भइरहेको उद्योग व्यवसायलाई निरन्तरता दिने मात्र होइन, समय सुहाउँदो प्रविधि, विश्वव्यापीकरण र लगानीका क्षेत्र विस्तारमा समेत सम्भावनाको ढोका खोलेको देखिँदै छ । ‘औद्योगिक प्रतिष्ठानमा नयाँ पुस्ता आउँदा त्यसले नयाँ ज्ञान, प्रविधि र सोचसहित आउँछ । नेपालमा सानो लगानीबाट व्यवसाय विस्तार गर्न सकिने ठुलो सम्भावना भएकाले यसले युवा पुस्तालाई प्रेरणासमेत दिन्छ,’ घिमिरेले भने । अघिल्लो पुस्ताले व्यवसायमा उतारचढाव भोग्दै आए पनि नयाँ पुस्ताको नेतृत्वबाट उद्यमशीलतामा फड्को मार्ने धेरै सम्भावना रहेको उनको बुझाइ छ ।