रोल्पा : दाङको घोराहीदेखि रोल्पाको होलेरी, दार्बोट, थबाङ हुँदै रुकुमको मैकोटसम्म जोडिएको सहिदमार्ग समयमै स्तरोन्नति र व्यवस्थित नहुँदा रोल्पा र रुकुमका नागरिकले सास्ती भोग्दै आएका छन् । सहिदमार्गको काम समयमै सम्पन्न हुन नसक्दा यहाँका नागरिकले सधै सास्ती भोग्दै आएका हुन् ।
पछिल्लो समय सहिदमार्गलाई मृत्युमार्गको उप नाम दिन थालिएको छ । समयमै स्तरोन्नति नहुँदा सवारी दुर्घटनाका घट्ना बढ्दै जाँदा सहिदमार्गलाई मृत्युमार्गसमेत भन्न थालिएको हो ।
प्राय: हिउँदको समयमा धुलाम्य र बर्खामा हिलाम्य हुने सहिदमार्गको अवस्था सुधार हुन सकेको छैन । दाङको घोराही र रोल्पाको होलेरी खण्डमा केही वर्षयता हेर्ने हो भने त्यहाँ पिच र कालोपत्रसमेत उत्रिएर उक्त सडक जीर्ण बनेको देखिन्छ ।
उक्त सडकमा दिनहुँ १ सयदेखि २ सयसम्म मालबाहक टिप्पर हिड्ने गर्दछन् । चालक र नागरिकहरू उक्त सडकखण्डमा जीर्ण र कठिनपूर्ण यात्रा गर्न बाध्य छन् । हरेक वर्ष संघ र प्रदेश सरकारले सहिदमार्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम बनाए पनि बजेटमा सधैँ उपेक्षामा पर्दै आएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट ल्याउदा रोल्पाका प्रतिनिधि सभा सांसद बर्षमान पुन अर्थ मन्त्री थिए । पुनले सहिदमार्गमा भनेर १ अर्ब २५ करोड बजेट विनियोजन गरेका थिए ।
विसं २०६४/०६५ बाट निर्माण सुरु गरिएको सहिदमार्गको काम हालसम्म पनि सकिएको छैन । बर्खाको समयमा माथिबाट पहिरो झर्ने र मुनिबाट खोला नालाले तान्ने भएकोले हिउँदमा सुधार गरेको सडक बर्खामा उस्तै हुने गरेको छ ।
सहिदमार्ग निर्माण गर्दाको समयदेखि हालसम्म धेरै व्यक्तिले सवारी दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् । माओवादीले सुरु गरेको तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वको नामबाट नामकरण गरिएको सहिदमार्गको अवस्था हेर्दा साच्चिकै सहिद जस्तो भएको परिवर्तन गाउँपालिकाका स्थानीय योगेन्द्र रोका बताउँछन् । उनले सहिदमार्ग यो वर्ष हेर्यो उस्तै, अर्को हेर्यो उस्तै देखिने गरेको बताए ।
परिवर्तन गाउँपालिकाका अर्का स्थानीय ओम प्रकाश बुढाको पनि गुनासो उस्तै छ । उनले भने, "हामी यहाँबाट दाङ जान पिच भएमा जम्मा ४-५ घण्टा लाग्ने हो तर अहिले ७-८ घण्टा लाग्ने गरेको छ।"
लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पा र एकमात्र हिमाली जिल्ला रुकुमपूर्वलाई हेरिएको छ । उक्त सडक दाङको घोराहीदेखि रुकुमपूर्वको तकसेरा मैकोटसम्म २ सय २० किलोमिटर रहेको छ । जसलाई सरकारले दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै रुकुम पूर्वको तकसेरा–मैकोट हुँदै डोल्पासम्म जोड्ने लक्ष्य राखेको छ ।
शान्ति प्रक्रियापछि सहिदमार्गको कामले गति लिने अपेक्षा राखिए पनि हालसम्म परिवर्तन हुन नसकेको स्थानीयको भनाइ छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै पूर्वी रुकुमसम्म जोडिएको सहिदमार्गको थोरै खण्ड मात्र कालोपत्रे छ । अहिले होलेरी दार्बोट खण्डमा स्तरोन्नति र कालोपत्रेको काम भइरहेको छ ।
दार्बोट, घर्तीगाउँ,दुइखोली खण्डमा काम भइरहेको छ । परिवर्तन गाउँपालिकाको चप्कादेखि बागमारा, चुन्बाङ हुँदै रुकुमकोट जोड्ने खण्डमा काम भइरहेको छ । त्यस्तै परिवर्तन गाउँपालिकाको दुईखोली र थबाङ खण्डमासमेत काम भइरहेको छ । दुईखोली चुन्बाङ खण्ड र दुईखोली थबाङ खण्ड परिवर्तन गाउँपालिकामा पर्ने भएकोले काम राम्रै भएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर बताउँछन् ।
"प्रत्यक्ष रूपमा हेर्दा काम राम्रो भएको देख्छु र मेरो कार्यकालमा यी दुई खण्ड स्तरोन्नति र पिच हुन्छ भन्ने विश्वास लिएको छु" बुढा मगरले भने । सहिदमार्गको अधिकांश भाग कच्ची नै रहेको छ । सहिदमार्गअन्तर्गत दाङको घोराही–होलेरी खण्डको सडकमा कालोपत्रे भए पनि कालेपत्र गरिएको सडकमा अहिले कालोपत्रेको नामनिसान छैन । कालोपत्रे उप्किएर उक्त भागमा पनि अहिले नागरिकले हिउँदमा धुलाम्य र बर्खाको समयमा हिलाम्य यात्रा गर्न बाध्य छन् ।
कमसल कालोपत्रे र सिमेन्ट उद्योगका टिप्परले सडकको भारवहन क्षमताभन्दा बढी चुनढुंगा ओसार्न थालेपछि सडकमा कालोपत्रे उप्किएको जिप चालक बिरेन्द्र घर्ती बताउँछन् । "हिउँदमा धुलोको कारणले सहिदमार्गमा नागरिकले सास्ती खेप्नुपर्दछ भने बर्खायाममा सडक भत्किने, पहिरो जाने, सडकमा पानि जम्मा भएर गाडीहरू फस्ने समस्या हुनाले वर्षायाममा सवारी आवागमन कठिन हुने गर्छ" घर्तीले भने ।
पश्चिम रोल्पालीको जनजीवनलाई सहज बनाउने मुख्य लाइफलाइनको रूपमा रहेको सडक समयमै निर्माण सम्पन्न नहुँदा नागरिकले सास्ती नै सास्ती खेपिरहेका छन् ।