
नेपालगन्ज : मिर्गौला रोगबाट पीडित वरिष्ठ कलाकार कमल बी.के. ‘निर्मोही’लाई उपचार सहयोगस्वरूप १ लाख ६ हजार २ सय ११ रुपैयाँ हस्तान्तरण गरिएको छ ।
सहयोगका लागि संकलित रकम ‘तिहारका रंगहरू’ नामक सांस्कृतिक कार्यक्रममार्फत जुटाइएको थियो । बास नेपालद्वारा गत कात्तिक ४ गते नेपालगन्जमा आयोजना गरिएको सो कार्यक्रमबाट उठेको रकम आइतबार कलाकार निर्मोहीको निवासमै पुगेर हस्तान्तरण गरिएको हो ।
सहयोग रकमको चेक बास नेपालका कार्यकारी निर्देशक तथा निर्मोही उपचार सहयोग समिति संयोजक नमस्कार शाह, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले निर्मोहीकी धर्मपत्नी हेरम देवी बी.के.लाई हस्तान्तरण गरे ।
कार्यक्रममा शाहले सहयोग अभियान र संकलित रकमबारे जानकारी दिँदै बास नेपालले कलाकारका स्वास्थ्य उपचारका लागि निरन्तर अभियान सञ्चालन गर्दै आएको बताए ।
चेक ग्रहण गरेपछि निर्मोहीकी धर्मपत्नी हेरम देवीले सहयोगले परिवारमा नयाँ आशा पलाएको बताइन् । उनले कार्यक्रम आयोजना गर्ने बास नेपाल, सहयोगदाता तथा सहयात्री सबैप्रति आभार व्यक्त गरिन् ।
सो अवसरमा समिति सदस्य श्रेष्ठले सबैलाई अभियानमा जोडिन र कलाकार निर्मोहीको शीघ्र स्वास्थ्यलाभको कामना गर्न आग्रह गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी पूर्व उपप्रमुख उमा थापा मगर, वरिष्ठ कलाकार सुन्दर गुरुङ, जितबहादुर थापा, सञ्चारकर्मी शुक्रऋषि चौलागाईं, बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकायालगायत पत्रकार तथा बास नेपालका कर्मचारीहरूको सहभागिता रहेको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।