
काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले निराशाजनक हार ब्यहोरेको छ । आइतबार दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।
पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमै १५६ रनमा समेटियो ।
नेपालको सुरुवात कमजोर रह्यो । ओपनर कुशल भुर्तेल दोस्रो बलमै शून्य रनमा क्याच आउट भए भने अर्का ओपनर आसिफ शेखले केही समय टिक्दै ३९ बलमा ३७ रन जोडे । उनी ४ चौका र १ छक्का प्रहार गर्दै आउट भए ।
मध्यक्रममा भीम सार्कीले ५० बलमा २ चौका र १ छक्काको सहयोगमा २९ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन जोडे । ऐरी ६० बलमा ३ चौका प्रहार गर्दै अन्तिम ब्याटरका रूपमा आउट भएका थिए ।
अन्य ब्याटरहरू मध्ये आरिफ शेखले २०, सोमपाल कामीले ११ रन बनाए भने कप्तान रोहित पौडेल २, गुल्सन झा ३, करण केसी २, सन्दीप लामिछाने शून्य रनमा आउट भए ।
नेपालको ब्याटिङ लाइनअप ध्वस्त पार्न अमेरिकाका हर्मित सिंह चम्किए । उनले ८.१ ओभरमा २७ रन खर्चेर ६ विकेट झारे ।
यसअघि, नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले सन्तुलित प्रदर्शन गर्यो । ओपनर स्मित पटेलले १०० बलमा ९ चौकासहित ७५ रन जोडे भने मिलिन्द कुमार अविजित ७० रनमा रहे ।
कप्तान मोनाक पटेलले १० रन, शुभम रन्जनीले १९ रन, र हर्मित सिंहले अन्त्यतिर तीब्र १६ रन (६ बलमा २ छक्का) जोडे ।
नेपालका बलरहरूमध्ये सन्दीप लामिछानेले २ विकेट लिए । उनले १० ओभरमा ५६ रन खर्चे । सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट झारे ।
यो हारसँगै नेपालले लिग–२ को १७ खेलमा १२ अंक मात्रै जोडेको छ । जितसँगै अमेरिका २१ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा पुगेको छ । समान अंक रहेको स्कटल्यान्ड खेल संख्या बढी भएकाले दोस्रो स्थानमा छ ।
नेपालले अब सिरिजको दोस्रो खेल अक्टोबर ३० मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले नोभेम्बर १ मा अमेरिका र नोभेम्बर ५ मा पुनः युएईसँग प्रतिस्पर्धा गर्नेछ ।