जुम्ला : कर्णाली प्रदेश सरकारका सांसद देवेन्द्र बहादुर शाहीले जलवायु परिवर्तनले हिमाली क्षेत्रहरुलाई बढी असर पारेको बताएका छन् ।
विकास साझेदार संस्था किर्डाक नेपालद्वारा जुम्लामा आयोजित जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै शाहीले जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न सरकार पनि लागि परेको बताए ।
उनले जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारका सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताए । उनले सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताए ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिक अगुवा,बालबालिका, तथा युवाहरुको सहभागितामा हिमाली संवाद सुरू भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले कार्बन उत्सर्जनमा हाम्रो भूमिका नभएपनि जथाभावी बाटो खन्ने, रुख बिरुवा मास्ने र वातावरण मास्ने काम दिन प्रति दिन भएको बताए ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जिल्लामा जलवायु परिवर्तनका धेरै कार्यक्रममा भएको बताए । उनले कार्यक्रम हुने तर कार्यान्वयन पक्ष फितलो देखिएको बताए ।
त्यस्तै किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले हिमाली संवादका मुख्य उद्देश्यहरू बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने रहेको बताए ।
किर्डाक नेपालकी अध्यक्ष सम्झना मल्लले वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान गरेता पनि यी क्षेत्रका बालबालिकाले यसका विनाशकारी परिणामहरूको सबैभन्दा बढी मार खेपिरहेको बताइन् ।