२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

पाल्ही आधारभूत विद्यालयमा विद्यार्थीको खडेरी

शिक्षक छन्, संरचना छ तर छैनन् विद्यार्थी

shivam cement
विनोद निगम
२०८२ जेठ ३ गते २२:२५
पाल्ही आधारभूत विद्यालयमा विद्यार्थीको खडेरी

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–२ अमानीगन्जस्थित पाल्ही आधारभूत विद्यालय अहिले गम्भीर शैक्षिक संकटको चपेटामा परेको छ । 

वि.स.२००५ सालमा स्थापना भएको यो विद्यालयले यसअघि यति धेरै चुनौतीको सामना गर्नुपरेको थिएन । एक समय ७/८ सय विद्यार्थीहरू हुने यो विद्यालय अहिले विद्यार्थीविहीन हुँदै गएको छ ।

विद्यालयमा हाल स्थायी दरबन्दीमा दुई जना, राहतमा एक जना, विद्यालय स्रोतबाट एक जना र कार्यालय सहयोगी एक जना गरी कुल पाँच जना शिक्षक÷कर्मचारी कार्यरत छन् ।  

शिक्षकहरू नियमित रूपमा विद्यालयमा उपस्थित हुने, कक्षाकोठा खोल्ने र जिम्मेवारी बहन गर्ने गरेका छन् । तर शिक्षकको नियमितता हुँदाहुँदै पनि विद्यार्थी संख्या न्यून हुँदै गएको छ ।

कहिल्यै ८ कक्षासम्म अध्ययन हुने र सयौं विद्यार्थी अध्ययन गर्ने यस विद्यालय अहिले कक्षा ५ सम्म मात्र सीमित छ । हाल विद्यालयमा जम्मा १५ देखि २५ जना मात्र विद्यार्थी देखिन्छन् । कहिलेकाही त्यो संख्या पनि शून्यमा पुग्ने हो कि भन्ने चिन्ता हुन थालेको छ । 

विद्यालयको यस्तो संकटको मूल कारणमध्ये प्रमुख हो शिक्षाको गुणस्तर । स्थानीय अभिभावकहरूका अनुसार विद्यालयमा पढाइको स्तर कमजोर भएपछि उनीहरूले आफ्ना बालबालिकालाई नजिकको निजी वा अन्य सामुदायिक विद्यालयमा पठाउन थालेका छन्। 

केही वर्ष अघिसम्म आफ्ना सन्तानलाई यतै पढाउने गर्थे, तर गुणस्तरीय शिक्षा प्राप्त नहुँदा वैकल्पिक मार्ग रोज्न बाध्य भएको उनीहरूको भनाइ छ ।

विद्यालयको पतनमा स्थानीय तहको कमजोरीलाई पनि मुख्य कारकको रूपमा हेरिएको छ । शिक्षा योजनामा समन्वयको अभाव, अनुगमनको कमी, र विद्यालयको विकासप्रति चासो नदिइनुले गर्दा पाल्ही आधारभूत विद्यालय अस्तित्वको संकटमा पुगेको छ । स्थानीय तहबाट समयमै आवश्यक पूर्वाधार, स्रोत साधन र गुणस्तरीय शैक्षिक कार्यक्रमहरू लागू गरिन सकेको भए आजको यो अवस्था नआउने स्थानीयहरु बताउँछन् । 

विद्यालयमा संरचना छ, शिक्षक छन्, कक्षाकोठा छन्, तर विद्यार्थी छैनन् । यसले विद्यालयको अस्तित्वप्रति गम्भीर प्रश्न उठेको छ । 

यस समस्याको समाधान खोज्न सामूहिक प्रयासको खाँचो रहेको स्थानीयहरु बताउँछन् । स्थानीय तहले विद्यालयको पुनर्जीवनका लागि विशेष योजना ल्याउनुपर्ने उनीहरुको माग छ । 
००० 
 

ADV

सम्बन्धित खबर

Advertise