रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूले तलबभत्ता तत्काल उपलब्ध गराउन माग गर्दै आइतबार नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । दसैं, दीपावली र छठजस्ता महत्त्वपूर्ण पर्वहरूमा समेत तलब नपाएको भन्दै शिक्षकहरूले आर्थिक संकट झेलिरहेको गुनासो गरेका छन् ।
२०८२ साउनदेखि हालसम्म नगरपालिकाअन्तर्गत कार्यरत करिब ३०० शिक्षक–कर्मचारीले तलबभत्ता पाउन सकेका छैनन् । दसैंमा समेत तलब नपाएको र अब दीपावली तथा छठ नजिकिँदासमेत नगरपालिकाले कुनै पहल नगरेको भन्दै शिक्षकहरूले असोज २८ गतेसम्म तलब उपलब्ध गराउन माग गरेका छन् । माग पूरा नभए असोज २९ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गरी आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।
प्रधानाध्यापक बुनिलाल यादवले भने, “दसैंजस्तो पर्वमा तलब नपाउँदा हामीलाई ठूलो आर्थिक समस्या भएको छ । दीपावली र छठ पनि नजिकिँदैछ, तर नगरपालिकाले कुनै चासो देखाएको छैन । बाध्य भएर हामीले ज्ञापनपत्र बुझाएका हौं ।”
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले नगरपालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता निकासा गर्न नसकिएको बताए । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले खाता सञ्चालनका लागि अख्तियारी दिन ढिलाइ गर्दा कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता खोल्न नसकेको उनको भनाइ छ ।
यादवले भने, “हामी शिक्षक–कर्मचारीको तलब तत्काल उपलब्ध गराउन प्रयासरत छौं । सम्भवतः भोलिसम्म अख्तियारी प्राप्त भएपछि खाता सञ्चालन हुन्छ र तलब निकासा गरिनेछ ।” कार्यवाहक नगरप्रमुख खातुनले पनि भोलिसम्म अख्तियारी दिने र तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।
शिक्षकहरूले लामो समयदेखि नियमित तलब नपाएको र नगरपालिकाले बारम्बार आश्वासनमात्र दिएको गुनासो गरेका छन् । शिक्षक सुबोध यादवले भने, “हामी समाजको भविष्य निर्माण गर्ने आधार हौं, तर हाम्रो जीवनयापन नै संकटमा छ । आर्थिक समस्याले कक्षा कोठामा ध्यान केन्द्रित गर्न गाह्रो भएको छ ।”
शिक्षकहरूको प्रस्तावित आन्दोलनले हजारौं विद्यार्थीको पढाइ प्रभावित हुने जोखिम छ । शिक्षकहरूले विद्यालय बन्द गर्न नचाहे पनि आर्थिक संकटले बाध्य भएको बताएका छन् ।