२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

फेरि खुल्यो सुन तस्करीको फाइल

shivam cement
दिवाकर अधिकारी
२०८२ असोज २७ गते ०६:२०
फेरि खुल्यो सुन तस्करीको फाइल

काठमाडौं : पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करीमाथिको अनुसन्धानका क्रममा आइतबार महरालाई नियन्त्रणमा लिएको हो । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा नेपालमा सुन भित्रिएको विषयमा अनुसन्धान भएर अगाडि बढेको थियो । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि रोकिएको थियो । सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि यो फाइल फेरि खुलेसँगै पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका हुन् । 

२०७९ साल १० पुस गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले दुईवटा सुटकेस ल्याएका थिए । सो सुटकेसभित्र ७३ वटा बट्टामा ७ सय ३० थान भेप थिए । सो भेपमा सुन लुकाएर ल्याइएको विषय अनुसन्धानमा खुलेको थियो । अवैध रूपमा ल्याइएको ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँबराबरको सो सुन तस्करी प्रकरणको फाइल सरकारले फेरि खोलेको हो । सो सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लाग्दै आएको छ । 

२०८१ साल पुस १९ गते एक चरणको अनुसन्धान सकिएर अगाडि बढेको थियो । त्यसबेला ९ किलो सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । 

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमा भन्सारका नासु खड्कासहित सुन प्रकरणमा दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापा जोडिएका थिए । राहुल पूर्वसभामुख महराका छोरा हुन् । राहुल महरा यसअघि नै पक्राउ परेर कारागार चलान भएका थिए ।

त्यसअगाडि नै यो प्रकरणमा सिआइबीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो । २०८१ साल भदौ १६ गते यो मुद्दाको फैसला भएको थियो । जसमा खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिमाना, दिनेश बस्नेतलाई १ वर्ष ६ महिना कैद र १५ हजार जरिमाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिमानाको फैसला सुनाइएको थियो ।

त्यस्तै, वेदप्रकाश र साहेव रावविरुद्ध जनही ४५ हजार जरिमाना सुनाइएको थियो । दावा र राहुललाई जनही १ वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो । लोकेन्द्रलाई सफाइ दिइएको थियो । 

प्रहरी अधिकारीहरूका अनुसार दुई चरणमा अनुसन्धान भइसकेर पनि यो प्रकरणको टुंगो लाग्न सकेको थिएन । राजनीतिक रूपमा यो प्रकरणलाई हेरियो भन्ने आमचासो र गुनासो रहेका बेला वर्तमान सरकारले सुन तस्करीको फाइल फेरि खुलेको हो । अहिलेको अनुसन्धान कुन चरणमा छ र कहाँसम्म पुग्छ भन्ने विषयमा भने प्रहरीले केही बताएको छैन ।

ADV

सम्बन्धित खबर

Advertise