२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

लोकतन्त्रमाथि उभिएको प्रश्न

२०८२ जेठ ७ गते ०६:०५
लोकतन्त्रमाथि उभिएको प्रश्न

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

हाम्रो लोकतन्त्र धेरै उन्नत छ, सुशासनका आदर्शले भन्दा पनि लोभका यथार्थहरूले हाम्रो लोकतन्त्र उन्नत भएको हो । महालेखापरीक्षकको हरेक वार्षिक प्रतिवेदनले बेरुजु बढाउने हाम्रो लोकतन्त्रको हरहिसाब पारदर्शी नभएकाले पनि राम्रो भएको हो ।

टेरामक्स प्रकरणले १ माननीयको पद रिक्त भएकाले मात्र लोकतन्त्र उन्नत भएको होइन, गभर्नर पठाउन कैयन् दिन लाग्नाले पनि हाम्रो लोकतन्त्र विकसित र उन्नत भएको हो । गभर्नर छान्नै नसक्ने सिफारिस समितिले बरु आफैं राजीनामा दिएर मार्ग प्रशस्त गराउने आदर्श लोकतन्त्र नै छ हामीसँग ।

ढुकुटी कम हुँदै गएको र अधिक ऋणमा परेको लोकतन्त्रले रित्तो राष्ट्र बैंकमा गभर्नर पठाउनुभन्दा निमित्त, कायममुकायमबाट संचालन गराउनु राम्रो मानेको छ । टक्सार विभागले हरेक धार्मिक र चौरासी पूजा गर्दा दिने गरेको सिक्का पनि दिन छाडेकाले हाम्रो लोकतन्त्र अरू बेलाको भन्दा यतिबेलाको उन्नत छ र अब १४ महिनाको लगत्तै हाम्रो लोकतन्त्र ‘ह्यान्ड ओभर’ हुने कुरा बालुवाटारले पटक–पटक गरिसकेको छ । 

व्यक्ति–व्यक्तिमा आलोपालो सम्झौताअनुसार चलिरहने हाम्रो लोभतन्त्र पारिवारिक पनि हो । त्यसैले, सबै काम छलफलबाटै टुंगिन्छ । बालकोटदेखि बूढानीलकण्ठ, खुमलटारदेखि पेरिसडाँडा र च्यासलसम्म वारपार खुल्ला रहेको लोकतन्त्र र गणतन्त्र शीतल निवाससम्म छ्यापछ्याप्ती पाइन्छ । 

काठमाडौं उपत्यकाबाहिर लोकतन्त्र र संघीयता हिँडेर, गुडेर जाँदैन बरु हवाई मार्गमा जाने हुनाले सतहका समस्यासँग लोकतन्त्र खासै परिचित नभएको र सतहका पूर्वाधारहरूको निर्माणका लागि केन्द्रबाटै मज्जासँग म्याद थपिरहने लोकतन्त्र ठेकेदारहरूका लागि अझ उन्नत र अनुभवी पनि छ ।

बेरुजुको अंकभार स्थानीय तहमै अधिक रहेकाले पैसा वितरण गर्न हाम्रो संघीयता अब्बल छ । वितरित रकमले बनेको पूर्वाधार भोलिपल्टै गलिसक्दा पनि खिन्नताबोध नहुने हाम्रो लोकतन्त्रको पर्याय भनेको आफ्नै मान्छेहरूको भीड हो । सक्कली नेपाली त खाडीमा पुगिसकेका र तिनले पठाएको रेमिट्यान्सले हाम्रो लोकतन्त्र भरपूर बलियो भएको छ मात्र होइन, व्यापारघाटा र आन्तरिक अनि बाह्य ऋणले पनि अब्बल नै छ । 

सुशासन नदिने र महँगीको उपहार वितरण गर्ने हाम्रो लोकतन्त्र अब्बल प्रकृतिकै छ । जनतालाई नहेर्ने भए पनि जनताले हेरिरहनपर्ने खालको छ किनकि जनताले पाउने विषय धेरै टाढा छ । अरू देशका कार्यकारी प्रमुखहरू साइकलमा कार्यालय जाने–आउने गरे पनि हाम्रो लोकतन्त्रका संवाहकहरूको सुरक्षा ताँती र तिनको यातायात, घरभाडा, उपचार, अन्य सुविधा अब्बल किसिमकै छन् । त्यसैले पनि लोकतन्त्र उन्नत छ कि यसले खाद्यान्नलाई विदेशी कोटामा राखेको छ ।

अर्काको मान्छे रहुन्जेल बिजुली अफिस नाफामा हुने र लोडसेडिङ पनि नहुने, आफ्नो मान्छे आउनासाथ लोडसेडिङ पनि हुने र प्राधिकरण अर्बौं घटामा जाने ! बत्तीको कुनै नियमितता छैन र मैनबत्ती मात्र होइन, अन्य आयातीत विद्युतीय सामान आयातमा अभ्यस्त हाम्रो लोकतन्त्रले पानीको उपयोगमा ध्यान दिँदा पनि हुने भएको छ ।

आफ्नो मान्छे पसेको भोलिपल्टैदेखि हिजोआज बिजुली अनियमित छ । पानी आपूर्ति त विगतदेखि नै गराउन सकेको छैन बरु ट्यांकरको आपूर्ति मनग्य गराएको छ हाम्रो लोकतन्त्रले ।

धारामा पानी नआउने तर बिल आउने गरेको छ । पानी बेच्ने खानेपानी अफिस, हावाले मिटर घुम्ने पानी भने ट्यांकरतिर जाने र केही पानी छाडियो भने सडकै बगाइदिने उन्नत लोकतन्त्र हामीले पालिरहेका छौं । 

खाडीले रोजगारी नदिने हो भने, यहाँ युवाहरूको बिजोग हुने अवस्था छ । हाम्रो लोकतन्त्रले सबै अर्थ संरचनाहरू ध्वस्त बनाएको छ । निकम्मा बनाएको छ । हाम्रो लोकतन्त्रमा नारा छ तर समाधान छैन ।

आज जग्गा बिचौलियाहरूले नै कब्जा गरिसकेका छन् । उद्योग, कलकारखानाहरूमा झन्डाहरू फहराएका छन् । तात्तातो सिमेन्ट बेच्ने उदयपुर सिमेन्ट पनि अब निजीकरणतिर जाने चर्चा भइसकेको छ । कागजभरि औद्योगिक ग्रामहरू खुल्ने, विशेष आर्थिक क्षेत्रहरू खुल्ने तर बैंकहरूमा अधिक तरलता रहने, लगानी नहुने, विदेश लगानी आउनेभन्दा जाने बढी हुने हाम्रो लोकतन्त्र उन्नत छ ।

यसले दल आबद्ध नेपालीहरूलाई राम्रो रोजगारी पनि दिएको छ । झन्डा नबोक्ने राष्ट्र सेवक कर्मचारी वा कुनै पनि ओहोदाधारी पाउन मुस्किल गराउने लोकतन्त्र छ हामीसँग । 

विरोध गरे कानुन लगाइदिने लोकतन्त्रले धेरैलाई हतकडी वा काराबास धकेलिसकेको छ भने बालेनहरू निकै घाँडो भएका छन् । मौका पाउनासाथ यिनको हविगत पनि अरूकै सरह हुने देखिन्छ ।

काठमाडौं महानगरले अब केवल राजस्व संकलन गरेर बस्ने हामी बाँकी काम गर्ने संयन्त्रहरू राजनीतिकर्मी भएकाले केन्द्र र महानगरको दुरी नबढाउन पहिलेका नगर प्रमुखहरूले जस्तै काम गर्नुपर्ने देखिन्छ ।

अब डोजरहरूले आराम पाउने, सार्वजनिक जग्गाहरूमा उसको हात नजाने देखिन्छ, धेरै कचकच भएकाले लौरोले अब आराम गरेर साइजमा बस्नु लोकतन्त्रका लागि राम्रो हुने भएको छ । 
ढोका फोरेर कर्मचारी हाजिर गराउने लोकतन्त्रलाई अब पाथीभरा पनि सहज भएको छ । न्यायमूर्तिहरूबाट केबलकार बनाउने काम रोक्नुपर्दैन भनिदिनुभएको छ । निजामती सेवा ऐन आजै आउन सक्छ, नआए अध्यादेश आउँछ, १ थान ऐन लिएर जान काठमाडौं आएका शिक्षकहरूलाई घर पठाइसकिएको र अब वर्षा लागेकाले ती तुरुन्तै काठमाडौं नफर्केलान् ।

ऐन नआउँदा पनि खासै समस्या छैन । ती पनि नाताले आफ्नै हुन् र अन्यहरूले सडक जाम गर्नुभन्दा आफ्नाले नै १ महिना सडक जाम गरिदिएर लोकतन्त्रलाई समर्थन गरिदिएकाले धन्यवाद दिनै पर्छ हामीले । यस्तो बहुआयामिक लोकतन्त्रलाई हामी सबै मिलेर धन्यवाद दिनै पर्छ होला ।

ADV

सम्बन्धित खबर