२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

सहरमा प्रदूषणको चिन्ता

shivam cement
२०८२ भदौ १३ गते ०६:००
सहरमा प्रदूषणको चिन्ता

–खगेन्द्र पौडेल

नेपालका सहरहरूमा प्रदूषणको समस्या अहिले गम्भीर चिन्ताको विषय बनेको छ । राजधानी काठमाडौंदेखि भरतपुर, पोखरा, विराटनगर, नेपालगन्जसम्मका सहरी क्षेत्रहरूमा हावा, पानी र माटो प्रदूषण तीव्र गतिमा बढ्दै गएको छ । यसले न केवल वातावरणीय सन्तुलनलाई असर गरिरहेको छ, मानव स्वास्थ्य, सामाजिक जीवन र आर्थिक गतिविधिमा समेत गहिरो प्रभाव पारिरहेको छ ।

सबैभन्दा ठुलो चुनौती भनेको वायु प्रदूषण हो । काठमाडौं उपत्यका विश्वकै अत्यधिक प्रदूषित सहरहरूमध्ये पटकपटक सूचीकृत हुँदै आएको छ । पुराना सवारीसाधनबाट निस्कने धुँवा, सडकमा उड्ने धुलो, इँटाभट्टाबाट निस्कने धुवाँ र निर्माण कार्यका कारण वायुमा धुलो–धुवाँको मात्रा असामान्य स्तरमा पुगेको छ । यो वायुजन्य प्रदूषणले मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग, आँखाको समस्या, टाउको दुखाइ र दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोग निम्त्याइरहेको छ । अझ बच्चा, वृद्ध र गर्भवती महिला यसबाट बढी प्रभावित हुने गरेका छन् ।

पानी प्रदूषण पनि सहरी क्षेत्रमा उत्तिकै गम्भीर छ । नदी, खोल्सा र पोखरीमा फोहोरमैला, ढल र औद्योगिक फोहोर मिसाइने हुँदा पानीको गुणस्तर खस्किएको छ । काठमाडौं उपत्यकामा बग्ने बागमती, विष्णुमती र अन्य नदीहरूको दयनीय अवस्था त्यसको स्पष्ट प्रमाण हो । यस्ता प्रदूषित नदी र जमिनको पानी प्रयोग गर्दा मानिसमा पेटसम्बन्धी रोग, छालासम्बन्धी समस्या र दीर्घकालीन रूपमा क्यान्सरसम्मका जोखिम बढ्ने वैज्ञानिकहरूले बताएका छन् ।

सहरी प्रदूषणको अर्को स्रोत भनेको अव्यवस्थित फोहोर व्यवस्थापन हो । घर, पसल, उद्योग र अस्पतालबाट दैनिक रूपमा निस्कने फोहोरको मात्रा बढ्दो छ तर व्यवस्थापन प्रणाली भने कमजोर छ । कतिपय ठाउँमा फोहोर थुपारिने मात्र गरिन्छ, जलाइन्छ वा नदीमा फालिन्छ । यसले वातावरण प्रदूषणसँगै कीरा–माकुराको वृद्धि, दुर्गन्ध र महामारी फैलिने खतरा बढाउँछ ।

ध्वनि प्रदूषणले पनि शहरी जीवनलाई असहज बनाइरहेको छ । अत्यधिक संख्यामा चल्ने मोटरसाइकल, कार, बस र ठुला गाडीहरू, निर्माण स्थलमा प्रयोग हुने मेसिन, चर्को आवाजमा बज्ने ध्वनि प्रणालीले मानिसको मानसिक स्वास्थ्यमा असर पु¥याइरहेको छ । लामो समयसम्म ध्वनि प्रदूषणमा बस्दा मानसिक तनाव, निद्रासम्बन्धी समस्या र कानसम्बन्धी रोगहरू बढ्ने तथ्य वैज्ञानिकहरूले प्रमाणित गरेका छन् ।

सहरहरूमा बढ्दो जनसंख्या, असंयमित सहरीकरण र योजनाविहीन विकासका कारण प्रदूषण अझ बढ्दै गएको हो । सडक विस्तार, उच्च संख्यामा हुने निर्माण कार्य, इन्धनमा निर्भरता, हरियाली क्षेत्रमा अतिक्रमण र अनियन्त्रित औद्योगिक गतिविधिले प्रदूषणलाई द्रुत रूपमा बढाएको छ । योजनाविहीन बसोबासका कारण वायुमण्डलीय प्रदूषण मात्र होइन, हरियाली घट्दा सहरको सौन्दर्य र वातावरणीय सन्तुलन पनि बिग्रिएको छ ।

प्रदुषणले स्वास्थ्य क्षेत्रमा मात्र नभई आर्थिक क्षेत्रमा समेत नकारात्मक असर पु¥याएको छ । प्रदूषणका कारण उत्पन्न हुने स्वास्थ्य समस्याले अस्पतालमा धाउँदा हुने खर्च बढाउँछ, काम गर्ने क्षमता घटाउँछ र उत्पादनशीलता घटाउँछ । पर्यटकीय हिसाबले पनि प्रदूषणले सहरहरूको आकर्षण घटाउँछ, जसले नेपालको अर्थतन्त्रमा योगदान गर्ने पर्यटन क्षेत्र कमजोर बन्न सक्छ ।

यस्तो अवस्थामा प्रदूषण नियन्त्रणका लागि तत्काल र दीर्घकालीन कदम चाल्न जरुरी छ । सवारीसाधनमा कडाइका साथ उत्सर्जन परीक्षण लागू गर्नुपर्छ, सार्वजनिक यातायातलाई प्रोत्साहन गर्नुपर्छ, वातावरणमैत्री ऊर्जा प्रयोगतर्फ लाग्नुपर्छ । हरियाली बढाउन वृक्षरोपणलाई प्राथमिकतामा राख्नुपर्छ, नदी र जलस्रोत सफाइका अभियानलाई निरन्तरता दिनुपर्छ । साथै फोहोर व्यवस्थापनलाई आधुनिक प्रविधिमार्फत गर्नुपर्ने आवश्यकता छ । स्थानीय सरकारदेखि संघीय सरकारसम्मले प्रदूषणलाई नीतिगत रूपमा प्राथमिकतामा राख्नुपर्ने बेला आएको छ ।

सहरी जीवनलाई स्वस्थ र सुरक्षित बनाउन प्रदूषण नियन्त्रण अपरिहार्य छ । नेपालका सहरहरूले विकास र आधुनिकताका नाममा प्रदूषणको भारी बोकेको अवस्था अब सह्य छैन । यद्यपि दीर्घकालीन योजनाबिना यो समस्या समाधान हुने छैन । त्यसैले प्रदूषण नियन्त्रणलाई सबै नागरिक, सरकारी निकाय र निजी क्षेत्रले साझा जिम्मेवारीका रूपमा लिन जरुरी छ ।

ADV

सम्बन्धित खबर

Advertise