–राजन तिमिल्सिना
मानव सभ्यताको इतिहास केवल राजा–महाराजाका युद्ध र वंशावलीको विवरण मात्र होइन, यो आमजनताको श्रम, संघर्ष र अनुभवको लामो यात्रा हो । आदिमकालमा कुनै विद्यालय, विश्वविद्यालय वा आधुनिक प्रविधि थिएन तर मानिसले आफ्ना अनुभव र सामूहिक श्रमको आधारमा प्रकृतिसँग जुध्दै ज्ञान, प्रविधि र संस्कृति निर्माण गरे । आगो बाल्ने, भाषाको आविष्कार, कृषि प्रणालीको सुरुवात, सामाजिक संरचना र श्रम–विभाजन–यी सबै आदिम मानवकै महान् योगदान हुन् ।
इतिहासले प्रायः सत्ता र शासकलाई प्राथमिकता दिन्छ । तर जनशास्त्रीय दृष्टिकोणले देखाउँछ कि सभ्यता र ज्ञानका वास्तविक निर्माता ती साधारण जनता नै थिए, जसले प्रकृति र समाजसँग प्रत्यक्ष अन्तत्र्रिmया गर्दै चेतना, प्रविधि र संस्कृतिको विकास गरे । यही ऐतिहासिक तथ्यलाई आलोचनात्मक र वैज्ञानिक दृष्टिकोणले बुझ्नु जनशास्त्रको मूल उद्देश्य हो ।
आदिम सभ्यता
जनशास्त्रीय अध्ययनले आदिम सभ्यतालाई असभ्यताका रूपमा होइन, मानव विकासको आधारशिला र समाज निर्माणको प्रारम्भिक चरणका रूपमा बुझ्छ । प्रारम्भिक मानवको जीवन अस्तित्वको निरन्तर संघर्षसँग घेरिएको थियो । उनीहरू सिकार, माछा मार्ने, फलफूल संकलनजस्ता कार्यमा संलग्न थिए र यस क्रममा प्रायः प्राकृतिक प्रकोप–भूकम्प, बाढी, आँधी–तुफान र आगोसँग जुध्नुपर्ने अवस्था आउँथ्यो ।
भीमकाय जनावरहरूको आक्रमण– सिंह, बाघ, भालु र अन्य वन्यजन्तुले उनीहरूलाई सामूहिक सुरक्षा, सहकार्य र रणनीतिक योजनामा उन्मुख गरायो । जीवनरक्षा र स्रोत सुनिश्चितताका लागि सामूहिक श्रम अपरिहार्य भयो । यसरी साझा श्रम र उपभोगको अभ्यासले पारस्परिक निर्भरता, विश्वास र सामाजिक नियमहरूको विकास गर्यो । यसै प्रक्रियाबाट प्रारम्भिक सामूहिक स्वामित्व र उत्पादन प्रणालीको सांस्कृतिक आधार निर्माण भयो, जसले मानव समाजलाई क्रमशः विकसित सभ्यताको दिशामा अघि बढायो । परिवार, कुल र गोत्रजस्ता संरचना आवश्यकताअनुसार विकसित भए । त्यतिबेला औपचारिक कानुन थिएन तर व्यवहार, अनुभव र आवश्यकताका आधारमा बनेका परम्परा र रीतिनीतिले समाजलाई सञ्चालन गर्थे । प्रारम्भिक समाजमा मातृप्रधान संरचना प्रबल थियो तर उत्पादन प्रविधि र निजी स्वामित्वको उदयसँगै पितृप्रधान प्रणाली विकसित भयो । यसले देखाउँछ– सामाजिक संरचना दैवी आदेश नभई भौतिक उत्पादन र जीवनशैलीसँग जोडिएको यथार्थ हो ।
सांस्कृतिक अभ्यास र चेतना
आदिम सभ्यताको अर्को महत्वपूर्ण पक्ष सांस्कृतिक अभ्यास थियो । शिक्षण संस्थान नभए पनि गुफाका चित्र, ढुंगामा कोरिएका आकृति, सामूहिक गीत, नृत्य र अनुष्ठानहरूले सामाजिक स्मृति र एकताको भूमिका खेले । सूर्य, चन्द्र, तारा, नदी र बोटबिरुवाप्रतिको आदरले उनीहरूको प्रकृतिप्रतिको संवेदनशीलता र रचनात्मकता प्रकट गर्छ । यी नै सांस्कृतिक अभ्यासहरूले पछि धर्म, दर्शन र सौन्दर्य चेतनाको आधार तय गरे ।
जनशास्त्रीय दृष्टिले आदिम सभ्यता असभ्यताको पर्याय होइन, श्रम र बौद्धिक क्षमताको परिणाम हो । आगोको प्रयोग, औजारको आविष्कार, भाषाको विकास, यी उपलब्धिहरू नै आधुनिक विज्ञान र प्रविधिको जग हुन् । यसले प्रमाणित गर्छ–मानव इतिहास दैवी आदेश वा चमत्कारबाट होइन, भौतिक आवश्यकता र संघर्षको परिणाम हो ।
आविष्कार र प्रविधि
जनशास्त्रीय दृष्टिले प्रविधि कुनै आकस्मिक चमत्कार होइन, बरु आवश्यकताबाट जन्मिएको यथार्थ हो । ‘आवश्यकता नै आविष्कारकी जननी हो’ भन्ने भनाइलाई प्रारम्भिक आविष्कारहरूले पुष्टि गर्छन् । आदिम मानवले ढुंगा, हड्डी र काठबाट औजार बनाए, जसबाट पाषाण युगको सुरुवात भयो । आगोको प्रयोग–मानव सभ्यताको महान् उपलब्धि, उनले खाना पकाउन, जनावरबाट बच्न, ताप लिन र सामाजिक जमघट गर्न उपयोग गरे ।
भाषा र सञ्चार प्रणाली पनि जीवन–संघर्षकै परिणाम थिए । संकेत, चित्र, हावभाव र ध्वनि हुँदै भाषा विकास भयो । गुफा चित्र र प्रतीकहरूले लेखन प्रणालीको जग बसाए । प्रविधि केवल भौतिक औजारमै सीमित थिएन । सामूहिक श्रमका क्रममा गीत, नृत्य र नाटकजस्ता सांस्कृतिक प्रविधि जन्मिए । क्रिस्टोफर कडवेलका अनुसार, कविता र संगीत मानव सभ्यताको पहिलो सामूहिक आवेग थिए ।
सिन्धु, मेसोपोटामिया र मिश्र सभ्यतामा देखिने सिँचाइ प्रणाली, धातु प्रयोग र लेखन प्रणाली आदिम प्रविधिको उन्नत रूप हुन् । यी सबै विकास श्रम विभाजन, उत्पादन प्रणाली र सामूहिक आवश्यकताका आधारमा अघि बढे ।
सामाजिक र सांस्कृतिक विकास
समाज कुनै दैवी वरदान वा शासकको योजनाबाट बनेको होइन; मानिसहरूको सामूहिक श्रम, आपसी सहयोग र ऐतिहासिक आवश्यकताअनुसार विकसित भएको संरचना हो । परिवार, कबिला र जातीय समूहहरूको निर्माण, श्रम विभाजन र आपसी निर्भरता आदिम समाजको आधार थिए । श्रमसँगै गीत, नृत्य, लोककथा र अनुष्ठान जन्मिए । गुफा चित्र, टोटेम, नृत्य र संगीतले सामूहिक एकता र साझा चेतनालाई मजबुत बनाए ।
धर्म, मिथक र परम्परागत विश्वास प्रकृतिसँगको प्रत्यक्ष सम्बन्धकै परिणाम थिए । वज्रपात, वर्षा, सूर्य, चन्द्रमाजस्ता शक्तिलाई जीवनको आधार माने । पछि तिनलाई धार्मिक रूप दिइयो तर जनशास्त्रले यसलाई अन्धविश्वास होइन, प्रकृतिप्रतिको आदर र डरको सांस्कृतिक प्रतिक्रिया मान्छ ।
ज्ञान र दर्शन
ज्ञान र दर्शनको विकास पनि श्रम, अनुभव र प्रकृतिसँगको अन्तत्र्रिmयाबाट क्रमशः भयो । आदिम मानिसहरूले दिनरात, ऋतु, जन्म–मृत्युजस्ता प्रश्नमा उत्तर खोजे । सुरुवातमा देवत्वसँग जोडिए तर पछि अनुभव र प्रयोगले वैज्ञानिक सोच विकास गरायो । ग्रिसका थेल्स, डेमोक्रिटस, सुकरात, प्लेटो र अरस्तुले दर्शन र विज्ञानलाई भौतिक कारणमा आधारित व्याख्या गरे । सुकरातले प्रश्न–उत्तर विधिबाट आलोचनात्मक सोच प्रोत्साहित गरे । अरस्तुले तर्कशास्त्र र अनुभवमा आधारित अध्ययन गरेर आधुनिक विज्ञानको जग राखे ।
पूर्वीय दर्शनमा चवार्क, आर्यभट्ट, कन्फुसियस, लौजी आदिले भौतिकवादी र मानव–केन्द्रित दृष्टिकोण अघि सारे । अफ्रिकी मौखिक परम्पराले समुदाय–केन्द्रित दर्शन निर्माण गर्यो ।
वैज्ञानिक क्रान्तिका ग्यालिलियो, कोपरनिकस, न्युटनजस्ता विचारकहरूले प्रयोग र प्रमाणमा आधारित वैज्ञानिक चेतनालाई सुदृढ गरे । यसले प्रमाणित गर्छ–ज्ञान र दर्शन कुनै आकस्मिक वा दैवी वरदान होइन; श्रम, संघर्ष र अनुभवकै ऐतिहासिक परिणाम हुन् ।
निष्कर्ष
इतिहासलाई सत्ता केन्द्रित नभई जनकेन्द्रित र तथ्यमा आधारित ढंगले अध्ययन गर्नु नै जनशास्त्रको वैज्ञानिक मर्म हो । यस दृष्टिकोणले भन्छ– सत्यको स्रोत जनताको जीवन, श्रम र अनुभव नै हुन् । यही मर्मले आज पनि मानव समाजलाई विज्ञान, मानवता र न्यायको दिशामा अघि बढाउने ऐतिहासिक शक्ति प्रदान गर्छ ।