–प्रा.डा. बद्रीविशाल पोखरेल
नेपालमा सामन्तवादको सांस्कृतिक प्रेतलाई समयमै नपन्छाएकाले अहिले त्यसले तर्साइरहेको छ । जननेता मदन भण्डारीले सबै खालका अन्धविश्वास र रूढीवाद विरुद्ध सुधार आन्दोलन गरेर भूतप्रेत पन्छाउने कुरा सुझाउनु भएको थियो । यसलाई हामीले अझै नबुझ्दा, यसले हामीलाई नै गाँज्ने हो कि खतरा देखिन्छ । सुकरातले अढाई सय वर्ष अघि विद्वान् आफू बुद्धिमान् भएकामा भोलि पछुताउने छन् भनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेक बिनाको बुद्धि काम लाग्दैन भन्नु भएझैँ समाजमा विद्वान् कहलिएका एकाध व्यक्ति आफ्नो विवेकलाई खोपामा राखेर सडकमा तमासा देखाइरहेका छन् । उनीहरू स्वतन्त्र स्वाधीन नेपाली नागरिक हुनु भन्दा रैती हुन आतुर र व्यग्र देखिन्छन् । हाम्रा पुर्खाहरूले मानिसलाई जन्मका आधारमा होइन, कर्मका आधारमा श्रेष्ठ र पूजनीय मान्ने थिति बसालेका थिए । व्यास, विदुर र विश्वकर्मा आदि यसका उदाहरणहरू हुन् । पुर्खाहरूले निर्माण गरेको सभ्य र भव्य पद्धतिलाई भत्काउन आतुर छन् ।
धार्मिक तथा पौराणिक ग्रन्थहरूमा यसका उदाहरणहरू मनग्गे पाइन्छन् । प्रतिगामीहरू जन्मिँदै राजा, काजी, बनाउने विवेकहीन विषयमा बकवास गरिरहेका छन् र जग हँसाइरहेका छन् । तिनले त नेपाली आमाको कोखलाई तिरस्कार गरेझैँ गरिरहेका छन् र हिमानीको कोखको दिउँसै बाह्र बखान गरिरहेका छन् । यस्तै, खालको रूढीग्रस्त कुपरम्परा बसाउँदा ज्ञानेन्द्र शाहले आफ्ना गोडा खुल्ला ठाउँमा नेपाली आमा दिदी बहिनीहरूलाई धुवाउने दुस्साहस गरेका हुन् । र, यस्ता चरम अन्धविश्वासको गर्तमा नेपाली समाजलाई हाल्न डा. जगमान गुरुङले जस्ता नेताहरूले अगुवाइ गरेको देख्दा लाज नै लजाएको छ । गुरुङमा कतिपय विषयगत विद्वत्ता भएर पनि त्यसलाई ढपक्कै ढाक्ने गरी चरम अन्धविश्वास र रूढीवाद उहाँमा कुटकुट भरिएको रहेछ । हुन त जीवनको आठ दशकसम्म पछौटे पाराको हजार बारको प्रशिक्षणका कारण उहाँको मन र मस्तिष्क तदनुसार रूढीग्रस्त हुनु अचम्म नहोला । किनभने कार्लमाक्र्सले नै पनि परिवर्तित समाजमा पनि मानिसको दिल र दिमागमा पुरानै शासक, शासन सत्ता र शासन पद्धतिको विचार संस्कार र संस्कृति हाबी हुन्छ भन्नु भएको थियो । यस खालका अवशेष कम्युनिस्ट र प्रगतिशील मानिएका उपल्ला तहका व्यक्तिहरूमा देखिन्छ ।
जीवन जगत्का विषयमा उहिलेदेखि पश्चगामी र अग्रगामी चिन्तनको द्वन्द्व रहेको अध्ययनबाट अवगत हुन्छ । र, यस द्वन्द्वमा पश्चगमन धुलो पिठो भएको पनि विज्ञ जनलाई थाहै छ । तथापि, सामन्तवादी भूत प्रेतमा बानी परेका एकाध विज्ञ भनिनेहरू आजका दिनमा पनि चन्द्रमालाई देवता नै मानिरहेका छन् । तर, जीवन जगत्का सत्यतथ्य उजागर गर्ने भविष्यद्रष्टा ब्रूनो, ग्यालिलियो र चार्बाकहरू युगका मार्गदर्शकका रूपमा सुपरिचित छन् ।
आफूले जन्माएका सन्तानलाई भगवानको कृपाले जन्मिएका भन्नेहरू पश्चगमनकारी हुन् । फलानो धर्म, व्रत र आराधना गरे योग्य पति, पत्नी र उच्च शैक्षिक योग्यता प्राप्त गर्न सकिन्छ भन्नेहरू आफ्नो परिश्रम र पसिनामा किञ्चित गौरव गर्दैनन् । यो संसार यो भौतिक जगत र चराचर जगत अद्वितीय अलौकिक ईश्वरकै वरदान हो भन्नेहरू पछौटे चिन्तनका उपज हुन् । सदियौँदेखि राजा महाराजालाई देवताको अवतार भनेर हजार बार व्याख्या गर्दा त्यसबाट प्रभावितहरू भ्रमवश आफूलाई रैती हुन गौरव गर्छन् । तर, देवताकै बारेमा हाम्रा पुर्खाहरूले जे सही अर्थ र व्याख्या गरेका थिए ।
संस्कृतमा ‘दा’ र नेपालीमा ‘दि’ धातुबाट निर्मित देवता शब्दको मूल र सही अर्थलाई आधार बनाएर पुर्खाले सर्वस्व दिनेलाई देवता भनेका रहेछन् । यसरी सर्वस्व प्रदान गर्ने वायु, अग्नि, सूर्य, जल, अन्न फलफूलादी वनस्पतिलाई देवता भनिएको हो । यसैगरी बुद्धलगायत जीवन जगतलाई सर्वस्व प्रदान गर्ने मानवहरूलाई देवता भनिएको हो । धर्म संस्कृति र संस्कार सम्बन्धी प्राचीन ग्रन्थहरूमा अनेक जीवनोपयोगी पक्षहरू अझै पनि उजागर गरिएको छैन । यस्तै शैली कायमै रहिरहे सामन्तवादी सांस्कृतिक अवशेषले दुःख दिइरहने देखिन्छ । जननेता मदन भण्डारीले जबजमा धार्मिक, सांस्कृतिक रूपान्तरणमा बारबार जोड दिनु भएको छ । तर, यस्ता गम्भीरतम् विषयमा शून्य चेतले गर्दा डा. जगमान गुरुङको अगुवाइमा जग हँसाउने कृत्य प्रभावी हुन खोज्दै छ ।
इतिहास पुराण र धार्मिक पौराणिक ग्रन्थहरूमा भाग्यवाद मात्र होइन, कर्मवाद र श्रममैत्रीका अनेक सूक्ति र उक्तिहरू छन् । तर, तिनलाई ओझेल पारियो । सामन्तवादले राज्य शक्ति र संयन्त्रमार्फत अहोरात्र अन्धविश्वास, पुर्पुरोवाद तथा रूढीवाद मात्र पढाएर आम जनतालाई आफ्नो सत्ता शक्तिको दास बनाएको हो । क्रूर र कठोर हस्तक्षेप भन्दा उपयुक्त तरिकाले कलात्मक तर उल्टा प्रशिक्षण गरेर आफ्नो संस्कृतिलाई सामन्तवादले जनमनमा जब्बर बनायो । यसैले कार्ल माक्र्सले क्याथोलिक भन्दा प्रोटेस्टियन धर्मलाई तुलनात्मक सकारात्मक ठहर गर्नु भएको थियो । यस सन्दर्भमा माक्र्सले आर्थिक र भौतिकलगायत तमाम विकास निर्माणका विषयमा भगवानको भर पर्नु किमार्थ जाती होइन भन्नु भएको थियो । यस्ता कुरामा भर पर्नु, लट्ठ पर्नु अफिम खाएर सरह हुन्छ भन्नु भएको हो । यति कुरा अझै हामीले नबुझ्दा हामी प्रगतिशील भनिनेहरू सप्तकोसीमा पैसा चढाउँछौँ अनि बिरालोले बाटो काट्यो भनेर निधारबाट पसिना काड्छौँ ।
ज्ञानेन्द्र शाहसँग जोडिएका विवाद अनेक छन्, तिनको फेहरिस्त निक्कै लामो हुन्छ । वीरेन्द्रको सकल वंश समाप्त गर्नुले धेरै कुराहरू बोल्छ । पञ्चायत कालका काण्डै काण्डका नायक ज्ञानेन्द्र बारेका एक प्रत्यक्ष प्रमाण वरिष्ठ पत्रकार पदम ठकुराठी हुन् । यस्ता दसी प्रमाणहरू अनेक छन्, तिनलाई मिडियामा मुखर गर्नुपर्छ । हावाले उडाउनेलाई कुचो लगाइरहनु पर्दैन । तमाम मोर्चा संगठनहरू चोटिला हास्य व्यङ्ग्यात्मक गीत, कविता, साहित्य सभा, सांस्कृतिक अभियान तथा बौद्धिक सभा व्याप्त गर्ने हो भने मुठ्ठीभर प्रतिगामी तत्वलाई निमेषमा निस्तेज गर्न सकिन्छ । पूर्वराजा वीरेन्द्र शाहको परिवारलाई निर्ममता र क्रूरतापूर्वक मारिएको सभाकक्ष किन भत्काइयो ? स्वयं नवराज सुवेदीले ज्ञानेन्द्रको पोल आफ्नो किताबमा खोलेकै छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भजाएर उनका नालायक र इतिहासका निकम्मा साबित सन्ततिलाई डा. गुरुङले काँधमा बोकेको पटक्कै सुहाएन । चिहानमा पुरिएको सती प्रथा ब्युँझाउन खोज्ने, जन्मसिद्ध श्रेष्ठता खोज्नेहरू, दास दासी र कमारा प्रथा ब्युँझाउन खोज्दैछन् । यस्तोमा अग्रगामी शक्तिहरू अगाडि आउनपर्छ ।
देश र जनताको हितका सवालमा राजतन्त्र काल र गणतन्त्र कालको तुलना गर्दा हरेक क्षेत्रमा आकाश जमिनको फरक स्पष्ट हुन्छ । राजतन्त्र कालमा गरिबिको रेखामुनिका जनता ४९ प्रतिशत थिए भने गणतन्त्र कालमा १५ प्रतिशत छन् । राजतन्त्र कालमा मातृ शिशु मृत्युदर प्रतिहजारमा १२८ थियो भने गणतन्त्र कालमा गणतन्त्र कालमा मातृ शिशु मृत्युदर हाल प्रतिहजार २१ मात्र छ । राजतन्त्र कालमा नेपालीको औसत आयु ५४ वर्ष थियो गणतन्त्र कालमा ७१ भन्दा बढी छ । नेपालको कुल गार्हस्थ्य उत्पादन सडक सञ्जाल खानेपानीको पहुँच लगायत बिजुलीको उपभोग विषयमा गणतन्त्रकाल धेरै माथि रहेको तथ्यले बताउँछ । यतिका फरक देखी–देखी योग्यता क्षमता, प्रतिभा र पौरख विहीन वंशका आधारमा मात्र श्रेष्ठ सामन्ती राजतन्त्रको डा. गुरुङले नै पक्षपोषण गर्नु लज्जाजनक देखिन्छ ।
(लेखक प्रा.डा. पोखरेल, मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य हुन् ।)