-मदनकुमार श्रेष्ठ
२०७८ वैशाख १५ गते बुधबार दिउँसो २ देखि करिव पौने एक घण्टासम्मको बसाई र चियापान नै विष्णु दाइ अर्थात नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेसँगको अन्तिम भेट र बसाइ हुन पुग्यो, मेरो । भोलिपल्ट १६ बैशाखदेखि राजधानीलगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी हुँदै थियो । वैदेशिक रोजगारसंबन्धि बिषयको विद्यार्थीका नाताले मेरो अलि बढी नै सरसँगत वैदेशिक रोजगार व्यवसायीज्यूहरुसँग छ र संघको नेतृत्ववर्गसँग त झन् हुने नै भयो । तर पछिल्लो एक वर्षभन्दाबढी समय कोरोना कहरले प्रायः कसैसँग भेटघाट हुन सकिरहेको थिएन । त्यसमा पनि गत असोज मध्यतिर म स्वयं कोरोना संक्रमित भएर निमोनियालगायतका रोगहरुबाट ग्रसित भै लामो समय अस्पतालहरुमा बसेर उपचार पछि पूनर्जन्म झैं बाँचेको म खासै सार्बजनिकरुपमा निस्किएको थिइन । फोन र सामाजिक सन्जालबाहेक प्रायः कसैसँग प्रतक्ष्य भेटघाट थिएन ।
मध्यान्ह दैनिकको कार्यालय बागबजारबाट कुनै पूर्व योजना संघको बत्तीसपुतलीस्थित कार्यालय जाने मेरो मनमा बिचार आयो । भोलिपल्टदेखि राजधानी ठप्प प्रायः हुँदैछ, निषेधाज्ञा कहिलेसम्म लम्बिने हो ठेगान छैन, संघमा जाउँ कोही न कोही त भेट भै हाल्ला र यस्तो विषम परिस्थितिमा संघका अध्यक्ष, उपाध्यक्ष, महासचिव कोहिसँग भेट होला भनेर म अनायास नै त्यता लागें । नभन्दै संघमा अध्यक्षको कार्यकक्षमा अध्यक्ष गैरे, महासचिव सुजितकुमार श्रेष्ठ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका महासचिव भवानी निरौला बसिरहनु भएको रहेछ ।
नमस्कार आदान प्रदान पछि विष्णु दाइले म कोरोना संक्रमणबाट नराम्रोसँग बिरामी परेको र परिस्थितिजन्य अवस्थाले भेट गर्न आउन नसकेकोमा दुःख ब्यक्त गर्नु भयो । मैले कोरोना बिरुद्धको खोप लगाए नलगाएको बारेमा चासो लिनु भयो । मैले सरकारले पत्रकारलाई पनि प्राथमिकतामा राखेर उपलब्ध गराएको दुई डोज नै खोप लगाइसकेको जानकारी दिँदै उहाँलाई पनि खोप लगाउन आग्रह गरें । उहाँले तत्काल ठाउँ ठाउँमा खोपको खोजी गर्दै फोन गर्नु भयो । सबै तिरबाट छैन भन्ने जवाफ आयो । एक ठाउँबाट ‘हुन्छ, आउनोस्’ भन्ने जवाफ आएछ । विष्णु दाइले तीन जना (गैरे, सुजितजी र भवानीजी) छौं, तीनै जनालाई खोप लगाइ दिनु पर्यो भन्नुभयो । उताबाट लगाउन आउने भए तपाईं एक जनालाई हुन्छ, तीन जनालाई त मिल्दैन भन्ने जवाफ आएछ । साथिसंगती भनेपछि उहाँ ज्यानै दिने स्वभावको । उहाँले भै गो त तेसो भए भन्नुभयो ।
त्यसपछि वैदेशिक रोजगारका समसामयिक बिषयमा सामान्य छलफल भए । बीचमा महासचिव श्रेष्ठजीले चिया मगाउनु भयो, हामी चारै जनाले सँगै गफ गर्दै चिया पियौं । करिव ४५ मीनेट पछि म गैरे दाइलगायत तीनै जनासँग सुस्वास्थ्यको शुभकामना आदान प्रदान गरेर बिदा भएँ ।
सात दिन अगाडी विष्णु दाइ कोरोना संक्रमणबाट गम्भीर बिरामी हुनु भएको खबर आयो । पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रका कतिपय नेता र व्यवसायीज्यूहरु संक्रमित हुनुभएको जानकारी आइरहेको थियो । चिन्ता पनि बढिरहेको थियो । यसबारे मध्यान्ह दैनिकको ‘वैदेशिक रोजगार’ कोलममा समाचार पनि लेखियो । २६ वैशाख साँझ पौने छ बजे र ३० गते बिहीबार बिहान पौने नौ बजे गरी यसबीच मेले दुई पटक विष्णु दाइलाई उहाँको मेसेन्जरमा स्वास्थ्य अवस्था बारे बुझ्न जिज्ञासा पठाएको थिएँ । तर उहाँले जवाफ पठाउनु भएको थिएन । किनकी उहाँ मेसेन्जरमा जवाफ पठाउन सक्ने अवस्थामा नै हुनु हुन्थेन रहेछ ।
बिहीबार बिहान संघका महासचिव श्रेष्ठलाई फोन गरेर विष्णु दाईको स्वास्थ्य अवस्थाबारे बुझें । उहाँले निराश स्वरमा अध्यक्ष गैरेको स्वास्थ्य अवस्था झन् झन् बिग्रँदै गएको र बुधबार रातिदेखि भेन्टिलेटरमा राखिएको जानकारी दिनुभयो । त्यसअधि सहकर्मी मित्र रेशम पौडेलले बुधबार बेलुकी विष्णु दाइको छोरासँग कुराकानी हुँदा अक्लिजनको अभाव भएको र १÷२ सिलिण्डर भए पनि अक्सिजन खोजि दिन गरेको आग्रहलाई आफुले सक्दो मद्दत गरेको बताएका थिए ।
विष्णु दाइसँग मेरो चिनजान करिव डेढ दशक अगाडीदेखिको हो । उहाँ वैदेशिक रोजगार ब्यबसायमा लागे पछि संघ राजनीतितर्फ पनि सकृय हुन थाल्नु भयो । उहाँले आफुलाई केवल एक व्यवसायी व्यक्तिकारुपमा मात्र सिमित नगरी सार्वजनिक ब्यक्तित्वकारुपमा अगाडी बढाउँदै आउनु भयो । संघमा सदस्यकोरुपमा उहाँको सकृयतासँगै मेरो उहाँसँग सामिप्यता बढेको हो । उहाँको ‘मदन भाइ’ सम्बोधन मेरा लागि प्रिय थियो । डेढ दशकसम्म उहाँसँगको सम्बन्धमा कुनै उतारचढाव रहेन । बरु मेरै त्रुटि कमजोरी रह्यो होला तर उहाँबाट कहिल्यै त्यस्तो भएन । उहाँमा न अहम् थियो, न ईष्र्या । जो सुकैसँग मिल्न सक्ने र सबैलाई स्नेह र आदर गर्न सक्ने गुणका धनी हुनुहुन्थ्यो विष्णु दाइ ।
बिहीबार अपरान्ह एक कान, दुई कान हुँदै विष्णु दाइले देह त्याग गरेको समाचार आयो । पत्याउनै मुल्किल र पत्याए पनि सहन गर्न नै कठिन । अन्ततः कोरोना संक्रमणले विष्णु दाइलाई लगि छोड्यो ।साँच्चै असामयिक भयो– उहाँको निधन । सरल, मृदभाषी र आँखामा राखे पनि नबिझाउने स्वभावका विष्णु दाइसँगको त्यो अन्तिम भेट मेरो मानषपटलमा अविष्मरणीय रहनेछ । हार्दिक श्रद्धान्जली विष्णु दाइ तपाईंको आत्माले चीर शान्ति पाओस् !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies