काठमाडौं : कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्नेगरी सम्झौता भएको हो ।
सम्झौतामा कर्मचारी सञ्चय कोषका तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागरकुमार सिंह र सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेशराज महर्जनले हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात् बैंकका कर्मचारीहरूले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्तासरह कोषबाट प्रदान हुने सुविधा उपयोग गर्न सक्ने जनाइएको छ ।
सो सम्झौताअनुसार चालू आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरूको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम १ अर्ब ५८ करोड ३० लाख १८ हजार २ सय १७ रुपैयाँ २० पैसासमेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।
सिद्धार्थ बैंकमा हाल १ हजार ९ सय ५५ जना कर्मचारी कार्यरत छन् । बैंकका कर्मचारीले नियमानुसारको अवधि तथा प्रक्रिया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटीलगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।
कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्तालाई विभिन्न सामाजिक सुरक्षा सुविधासमेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार साधारण रोगको उपचारका लागि वार्षिक १ लाखसम्म र कडा रोगका लागि सेवा अवधिभरमा १० लाखसम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ ।
दुर्घटना क्षतिपूर्तिबापत २ लाखसम्म तथा काजकिरिया अनुदान ४० हजार निजका हकवालाले प्राप्त गर्ने गरेका छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाअन्तर्गत प्रति प्रसूति बढीमा दुईपटकसम्म ७ हजार ५ सय समेत प्रदान गर्दै आएको छ ।