परिचित नाम हो संगीतकार ओम प्रकाश राई । सानैदेखि शान्त स्वभावका थिए रे उनी । यही स्वभावका कारण स्कुले जीवनदेखि नै घर र विद्यालयमा कहिल्यै गाली खानु परेन । बुवा मदनसिंह राई, माता मिथिलेशदेबी राईको सन्तानका रुपमा भारतको सुपोल जिल्ला, चटगाउँमा जन्मिएका अहिलेका चल्तिका संगीतकार राईले संगीतमा एमम्युज गरेका छन् । आठ वर्षको कलिलो उमेरबाट संगीतमा लागेका राई त्यतिबेला घरमा सांगीतिक वातावरण रहेको बताउँछन् ।
संगीतको शिक्षा शुरुमा गुरु भोला प्रसाद राई, डा. बिन्देश्वरी नाथ र शत्रुघन मेहेताबाट लिएका राईले धरानमा संगीत प्रशिक्षकको रुपमा पनि केही समय बिताएका थिए भने उनले तीन हजार बढी गीतमा संगीत भरिसकेका छन् । हिन्दी, भोजपुरी, मैथली र केही लिम्बु गीतमासमेत संगीत भरेका राई आफुले सिर्जना गरेका पायः जसो गीतहरू श्रोता रुचीको हुने गरेको स्मरण गर्छन् । त्यतिबेला एल्बमको बिक्री पनि उच्च थियो । उनको एकल संगीतमा आठ वटा गीति एल्बम सार्वजनिक भएका छन् ।
नयाँ, पुराना प्रायः सबै गायक, गायिकाको स्वरमा संगीत भरिसकेका राईको संगीत रहेको ‘सिरानी लाएँ हात फेरी फेरी....’ बोलको म्युजिक भिडियो गत साता सार्वजनिक भएको थियो । संगीतका श्रोता र अग्रजहरूको हौसलाले आफ्नो सांगीतिक यात्रा निरन्तर अघि बढिरहेको उनी बताउँछन् । संगीतको राम्रो श्रोता बन्नका लागि पनि संगीत सिक्नुपर्ने उनको धारणा छ । प्रयोगका नाममा बढेको विकृतिले संगीतको मौलिकता समाप्त पार्ने चिन्ता राईमा छ । नेपाली संगीत क्षेत्रका स्थापित स्रष्टा राईको संगीतप्रतिको चाहना अझै प्रवल छ । नेपाली संगीतको क्षेत्रमा धेरै योगदान पुर्याउने चाहना बोकेका संगीतकार ओम प्रकाश राईसँग मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंको संगीत रहेको गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
यो आधुनिक गीत हो । भिडियो पनि राम्रै बनेको छ सन्तोष जनक प्रतिक्रिया आइरहेको छ ।
यति धेरै गीतमा संगीत भरिसक्नु भएको छ तपाईंलाई मन पर्ने आफ्नै सिर्जना ?
तीन हजार भन्दा बढी गीतमा संगीत भरिसकेको छु । आफ्नो सिर्जना सबै मन पर्छ तर स्रोताहरुले जुन गीत बढी मन पराउनु हुन्छ त्यो चाहिँ राम्रो हो कि जस्तो लाग्छ ।
म्युजिक भिडियो बनाएर युट्युबमा अपलोड गर्दैमा आफ्नो सिर्जनाले पूर्णता पाएको मान्नु हुन्छ ?
समयको माग अनुसार चल्ने हो । नयाँ नयाँ प्रविधिको सदुपयोग गर्नै पर्यो । भिडियो युट्युबमा अपलोड गर्दैमा पूर्णता पाउँछ भन्ने होइन त्यसमा पनि अनेकन प्रक्रियाहरु पूरा गर्नु पर्ने हुन्छ ।
तपाईंको पछिल्लो गीतको भिडियोमा लाइक, शेयर, टिकटक बनाएर पठाउने मध्येमा उत्कृष्टलाई पुरस्कारको घोषणा गर्नु भएको छ, के यो भिडियो युट्युबमा भ्युज बढाउने आइडिया हो ?
प्रतिस्पर्धाको जमना छ । आफ्नो सिर्जना कसरी उत्कृष्ट बनाउने भन्ने सबैको चाहना हुन्छ, त्यही चाहना मध्ये एउटा पाटो हो पुरस्कार । पुरस्कारको आशमा भएपनि एक पटक गीत सुन्छन् भिडियो हेर्छन् नि भन्ने हेतुले पुरस्कारको घोषणा गरेका हौं ।
सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको समय आएकोले हो कि म्युजिक भिडियो पनि चलचित्रको जस्तो खर्चालु हुन थालेको ?
अब अडियो त एफएम रेडियोहरुले मात्र बजाउने हो । अडियोसँगै भिजुअल हेर्दा छुट्टै आनन्द र अनुभूति हुने भएकोले सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको माग बढेको हो । जहाँसम्म खर्चको कुरा छ गीतको मागनुसार कुन कलाकार राख्ने र कोरस, दृश्यमा खर्च हुने हो । केही राम्रो बनाउनको लागि आवश्यक भन्दा बढी खर्च गर्छन् त्यो आ–आफ्नो चाहनाको कुरा हो ।
राम्रा गीतहरू आइरहेका छन्, यही भीडमा थुप्रै गीतहरू राम्रा हुँदाहुँदै पनि चर्चामा आउन नसक्नुको कारण के होला ?
सबैलाई थाहा छ राम्रो हुँदैमा चल्छ नै भन्ने छैन, चल्न त धेरै कुराको ध्यान राख्नु पर्छ । टिभि, रेडियोहरुमा गीत बजाइदिनु पर्यो तब न स्रोताको कानसम्म पुग्छ र सिर्जनाको सही मूल्यांकन हुन सक्छ । मिडियाको पहुँचभन्दा टाढा रहेको सर्जकहरुको कसले खोजी र वास्ता गर्छन् यहाँ ।
कस्तो गीतसंगीत बन्नु पर्छ जस्तो लाग्छ ?
संगीतमा मौलिकता भएको लोक, राष्ट्रको पहिचान पनि हुनुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो संगीत भनेर ‘गर्व’ गर्नलायक अवस्था आउनुपर्छ । नेपालमामात्र नेपाली संगीत होइन, विदेशमा पनि ‘नेपाली संगीत’ भनेर चिनिनुपर्छ । अहिलेको कालखण्ड डिजिटल टेक्नोलोजीमा गइरहेको छ । यसले संसारभरका नेपाली स्रोतालाई हातमा नै आफ्नो पनको गीतसंगीत सुन्न पाउने अवसर मिलेको छ ।
संगीत क्षेत्रमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने मध्येका एक हुनुहुन्छ, युवा पुस्ताले नेपाली गीतसंगीतलाई कसरी हेरिरहेको छ जस्तो लाग्छ तपाईंलाई ?
युवा पुस्ताले हाम्रो मौलिक र चलनचल्तिका भाका भन्दा पनि अन्य शैलीलाई रुचाइरहेको हो कि जस्तो लाग्छ । हातैमा संसार भएपछि जे मन लाग्छ त्यही हेर्दा, सुन्दा भैगयो ।
डिजिटल प्रविधिसँगै अघि बढेको युट्युबको बजारले गीत–संगीतको दायरालाई कता लाँदैछ जस्तो लाग्छ ?
कता लाँदैछ भन्दा पनि युट्युबले स्रष्टा र सर्जकलाई केही भएपनि राहत दिइरहेको जस्तो लाग्छ । समयको मागलाई हामीले पनि स्वीकार्नु उचित हुन्छ ।
गीत–संगीतको सिर्जनालाई कोरोनाको महाव्याधिले कस्तो असर पारिरहेको छ ?
सिर्जना त जस्तो सुकै स्थितिमा गर्न सकिन्छ । तर, श्रोतासम्म पुर्याउन कठिन हुन्छ । रचेरमात्र भएन संगीत भर्नुपर्यो, रेकर्डिङ गर्नु पर्यो । लकडाउनको अवस्था छ । प्राविधिक र स्टुडियोको समस्या आदि कामले गर्दा गीति सिर्जना भएपनि त्यसलाई पूर्णता दिएर श्रोतासम्म पुर्याउन कठिन छ ।
नयाँ–नयाँ गीतहरू सिर्जना हुनु, संगीतका धुनहरू बन्नु, राम्रा गायक–गायिकाहरू आउनु सांगीतिक क्षेत्रका लागि सुखद पक्ष हो । तर, अग्रज स्रष्टाहरुको कालजयी सिर्जनाको संरक्षणको बारेमा के सोच्नु भएको छ ?
कुरो त मुनासिव हो, अहिलेका गायक, गायिका कसरी हिट हुने भन्ने मानसिकताबाट ग्रसित देख्छु म त । यो दौडमा जो सफल भयो उ नै राम्रो मान्ने हाम्रो संस्कारले गर्दा कतिपय वास्तवमा राम्रा गायक, गायिका ओझेलमा परिरहेका छन् । अग्रज स्रष्टाहरुको सिर्जनालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । जुन कुरा वहन गर्न सकिरहेका छैनौं कि ।
संगीतमा आउन चाहने युवा पुस्तालाई के सुझाव दिनु हुन्छ ?
अहिलेका संगीत पनि राम्रा छन् । नराम्रो त म भन्दिन, तर हाम्रा गीतमा मौलिकता र सिर्जनशीलता पनि हुनुपर्छ । संगीत क्षेत्रमा आउने नयाँ पुस्तालाई मेरो यो आग्रह सधैं रहन्छ । संगीतको ज्ञान लिएरमात्र आउनु होस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies