२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

नेपालले स्कटल्याण्डलाई हरायो

shivam cement
मध्यान्ह
२०८२ असार ३ गते २३:०५
नेपालले स्कटल्याण्डलाई हरायो

काठमाडौं : नेपालले टी–२० त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गर्दै रोमाञ्चक जित निकालेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीनै टोलीको समान २–२ अंक रहेको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । तर सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले कमजोर सुरुवात गरेको थियो । तेस्रो ओभरमा लोकेश बम ९ रनमा आउट भए भने चौथो ओभरमा अनिल साह ३ रनमै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल ७ रन बनाएर आठौं ओभरमा आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

१३ औं ओभरको पहिलो बलमा कुशल भुर्तेल एलबीडब्लु आउट हुँदा नेपाल ६०–४ को स्थितिमा पुगेको थियो। उनले ३५ बलमा ४ चौका प्रहार गरेका थिए ।

१५औं ओभरमा दीपेन्द्र सिंह ऐरी १४ रनमा आउट भए । त्यसको दुई बलपछि बासिर अहमद १३ रनमा क्याच आउट भए ।

१८ औं ओभरमा रुपेश सिंह ६ रनमा आउट भए । अन्तिमतिर किरण ठगुन्ना पनि १० रनमा क्याच भए । तीन बलमा १ रन आवश्यक पर्ने अवस्थामा करण केसी ३ रनमा नटआउट रहे भने सन्दीप लामिछानेले पहिलो बलमै विजयी रन लिए ।

टस जितेर बलिङ रोजेको नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमै समेटियो। नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ११ रन खर्चिएर ३ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरीले पहिलो ओभरमै मार्क वाटलाई बोल्ड गरेपछि नेपालले राम्रो सुरुवात गरेको थियो। दोस्रो ओभरमा करण केसीको बलमा जर्ज मुन्से दीपेन्द्रबाट क्याच भए । त्यसै ओभरमा लियाम नेलर रनआउट हुँदा स्कटल्याण्ड १०–३ को अवस्थामा पुगेको थियो ।

करणले फिन्ले मक्रिथलाई चौथो ओभरमा क्याच गराए भने ललित राजवंशीले पाँचौ ओभरमा ब्रेन्डन मक्मलेनलाई आउट गरे ।

पाँचौ विकेटका लागि कप्तान म्याट क्रस १५ रन र माइकल लिस्कले ३९ रनको साझेदारी गरे । तर सन्दीपले १३औं ओभरमा लगातार दुई बलमा क्रस र क्रिस मक्ब्राइडलाई बोल्ड गरे ।

१७ औं ओभरमा सन्दीपले सफियान सरिफलाई एलबीडब्लु आउट गरे भने त्यसै ओभरको अर्को बलमा ज्याक जार्भिसलाई आउट गर्दै स्कटल्याण्ड ८१–९ को स्थितिमा पुर्‍याए ।

माइकल लिस्कले स्कटल्याण्डका लागि सबैभन्दा धेरै ४४ रन बनाए । उनले ४६ बल खेलेका थिए र अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise