रुकुम पूर्व : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालित पाँच वटा विद्यालयले स्थानीय सरकारको अनुमति र जानकारीबिनै विद्यालय बन्द गरेका छन् । असार १ गतेदेखि १८ गतेसम्म ती विद्यालयमा पठनपाठन ठप्प रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काका अनुसार गाउँपालिकामा कुल ५६ वटा विद्यालयमध्ये पर्वत मावि कोल, दुर्गा आवि गर्खानी, ज्योति आवि फल्नै, जनसेवा आवि गोलखाडा, र पहाडी आवि छमारी गरी पाँच विद्यालयले कुनै जानकारी नदिई मनोमानीरूपमा विद्यालय बन्द गरेका हुन् ।
“अन्य सबै विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको छ, तर यी विद्यालयहरूले आफ्नो मनपरी शैलीमा विद्यालय बन्द गरेका छन्,” प्रमुख खड्काले बताए ।
गाउँपालिकाले ती विद्यालयका प्रधानाध्यापकहरूलाई तत्काल बोलाई स्पष्टीकरण मागिसकेको छ । प्रमुख खड्काका अनुसार शैक्षिक क्यालेन्डर पालना नगर्ने र स्थानीय सरकारको जानकारीमा नआइकन शिक्षण संस्था बन्द गर्नु पूर्ण रूपमा गैरजिम्मेवार र अनुशासनहीन व्यवहार हो ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा वडा नम्बर १२ का वडाध्यक्ष दिलमान पुनले फोनसमेत नउठाएको गाउँपालिकाको गुनासो छ । वडाअन्तर्गत पर्ने विद्यालयहरू बन्द हुँदा वडाध्यक्षको मौनता र अनुपस्थिति थप प्रश्न उठाउने खालको देखिएको छ ।
गाउँपालिकाले शिक्षा जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार ढंगले गरिएको यस कार्यले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पार्ने भन्दै अन्य विद्यालयहरू पनि निगरानीमा राखिएको जानकारी दिएको छ ।