साउदी : करिब तीन दशक अगाडि एसएलसी परीक्षा सकेपछि सरोज थापा भविष्यको खोजीमा राजधानी काठमाडौं छिरे । त्यतिबेला ‘एसएलसी सकेर कमाउन जानुपर्छ’ भन्ने धारणा प्रचलित थियो । उनले पनि कालीमाटीस्थित एक आइसक्रिम पसलमा आठ सय रुपैयाँ मासिक तलबमा काम गर्दै आफ्नो आर्जनको यात्रा सुरु गरे । सुरुवाती अवस्थामा रोजगारीले गुजारा गर्न कठिन थियो, तर थापाको सपना भने ठूलो थियो ।
कामसँगै उनले सरस्वती क्याम्पस, सोह्रखुट्टेमा रात्रीकालीन कक्षा लिएर आइ.कम. अध्ययन गर्न थाले । बिहानदेखि साँझसम्म पसल, राति पढ्दै उनी अगाडि बढे । त्यसैबेला उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा तालिमको अवसर पाए । पसल मालिककै सहयोगमा तलबबाट किस्ताबन्दी कटाएर शुल्क तिरेर तालिम लिन सिकेका थिए थापाले ।
संघर्षको मोडबाट चुमिएको पहिलो सफलता
बिहान १० देखि बेलुका ४ बजेसम्म तालिमको लागि कक्षा र त्यसपछि फेरि पसलमा काम गर्ने गर्थे उनले । त्यसपछि नौ महिनाको तालिमपछि उनले सांग्रिला होटलमा इन्टर्नको रूपमा ६ सय रुपैयाँमा काम सुरु गरे । एक साँझ लोडसेडिङ हुँदा सिलिन्डर ग्यासको बत्ती बालेर पाहुनालाई सेवा पु¥याएको सानो बुद्धिमत्ताले व्यवस्थापनको ध्यान खिचेको थियो उनको । त्यसपछि उनी स्थायी कर्मचारीमा नियुक्त भए । जतिबेला तलब २६ सय रुपैयाँ भएको थियो ।
अन्तर्राष्ट्रिय करिअरको सुरुवात
सन् २००१ मा आफन्तको सहयोगमा युएईको अबुधाबीस्थित होलिडे इन थापा पुगेका थिए, सो सँगै उनको अन्तर्राष्ट्रिय करिअरको यात्रा सुरु भयो । सुरुमा सर्भिस विभागमा रहे पनि उनको ध्यान सधैँ बेकरी र पेस्ट्रीतर्फ नै थियो । उनले चुपचाप उक्त क्षेत्रमा सिप विकास गर्दै गए । कतार, कुवेत, ओमान, युएई हुँदै साउदी अरेबियासम्मका पाँचतारे होटलहरूमा उनले अनुभव बटुल्दै गए । अहिले उनी एक्जक्युटिभ पेस्ट्री सेफका रूपमा स्थापित छन्, जहाँ उनले मासिक करिब ३४ हजार साउदी रियाल तलब बुझ्ने गरेका छन् । जुन नेपाली रुपैयाँमा लाखौँ हुन्छ ।
‘बेक जुजु धौ केक’—नेपाली स्वाद र मौलिकताको प्रयोग
अन्तर्राष्ट्रिय पृष्ठभूमिमा सफलता पाएपछि पनि सरोज थापा मातृभूमिप्रति समर्पित छन् । काठमाडौंस्थित आफ्नै घरबाट उनले सुरु गरेका छन् ‘बेक जुजु धौ केक’ नामक अनौठो प्रयोग । परम्परागत नेवारी दही जुजु धौ मिसाएर बनाइने यस्ता केकहरूमा नेपाली मौलिकता र आधुनिक स्वाद मिसाइएको हुन्छ । यी केकहरूमा यार्सागुम्बा, सिस्नो, मोरिंगा, जटामसी, शिलाजीत, नीम, टिमुर, सालधूप, पाँचऔँले, जिम्बु, जस्ता औषधीय जडिबुटीको प्रयोग हुने गर्छ । उत्पादनहरू अर्गानिक हुने र ग्राहकको माग अनुसार अर्डरमा तयार पारिने थापाले बताएका छन् ।
नेपालमै बेकरी र चकलेटको अन्तर्राष्ट्रिय स्तरको फ्याक्ट्री
सरोज थापा अब नेपालमै युरोपियन र अमेरिकन मापदण्डअनुसारको बेकरी र चकलेट फ्याक्ट्री खोल्ने तयारीमा छन् । उनी विदेशमा बटुलेको दुई दशकभन्दा लामो अनुभवलाई नेपालमै लगानी गर्दै हजारौँ युवालाई सिप सिकाएर रोजगारी दिने योजनामा छन् । अब ‘बेक जुजु धौ केक’लाई ब्रान्डिङ गर्दै व्यावसायिक रूपमा सुरु गर्ने उनको लक्ष्य छ ।
उत्कृष्टताको उदाहरण प्रेरणाको शिखर
जीवनयात्रा केवल व्यक्तिगत सफलताको कथा होइन, यो नेपालका सम्भावनाहरू, युवाको आत्मबल र मेहनतको सम्मानको प्रतिविम्ब पनि हो । सात सय रुपैयाँबाट सुरु भएको थापाको यात्रा लाखौँ कमाइमा परिणत हुनुमा उनको निरन्तर प्रयास, आत्मविश्वास, र नवीन सोचको ठूलो भूमिका छ । आज सरोज थापा जो युवा पुस्तालाई सपना देख्न, संघर्ष गर्न र सफलतासम्म पुग्न प्रेरणा दिने व्यक्ति बनेका छन् ।