२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

काठमाडौंमा जुम्ली स्याउ, ब्रान्डिङ गर्दै कर्णालीवासी

shivam cement
दिवाकर अधिकारी
२०८२ भदौ २२ गते ०६:३५
काठमाडौंमा जुम्ली स्याउ, ब्रान्डिङ गर्दै कर्णालीवासी

काठमाडौं : ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनदेखि विधान महाधिवेशन जारी छ । विधान महाधिवेशनमा नेताहरू कस्तो विधि बनाउने भनेर बहस गर्छन्, तर्क–वितर्क गर्छन् । बाहिर निस्केर परिसरमा स्याउ टोक्छन् । यस्तोमा कर्णालीवासी नेताहरू अन्य प्रदेशका विधान महाधिवेशन प्रतिनिधिहरूलाई जुम्ली स्याउ चाख्न सुझाउँछन् । कतिपय नेताहरू आफैं जुम्ली स्याउ कस्तो हुन्छ भनेर चाखिरहेका हुन्छन् । एकप्रकारले विधान महाधिवेशनको एउटा आकर्षण कर्णालीको स्याउ बन्न पुगेको छ ।

यस वर्ष कर्णालीको स्याउ काठमाडौंमा धेरै ठाउँमा पाउने गरी व्यवस्थापन भएको छ । यसअन्तर्गत एमालेको विधान महाधिवेशन स्थलमा समेत पाँच ठाउँ जुम्लाको स्याउ बेच्ने गरी व्यवस्था मिलाइएको छ । नेपालमै उत्पादित स्याउको ब्रान्डिङ गर्न कर्णालीवासी लागिपरेका छन् । यस्तोमा सांसद र नेताहरू नै सक्रिय देखिन्छन् । 

यस कार्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसमेत सक्रिय छन् । शाहीले प्रतिनिधि सभाको बैठकबाटै जुम्ली स्याउको स्वाद लिन अपिल गरेका थिए । उनले सरकारसँग समेत जुम्लाको स्याउलाई प्रोत्साहन गर्न र विदेशी स्याउको आयात रोक्न माग गरेका थिए । 

‘जुम्ली स्याउ खाऔं, विदेशी स्याउ रोकौं’ भन्ने नाराका साथ कृषिमन्त्री र गृहमन्त्रीलाई तत्काल यस विषयमा आवश्यक कदम चाल्न उनको आग्रह थियो । 

सांसद शाहीले भने, ‘जुम्लाको स्याउको बजार विस्तारका लागि सहयोग गर्न सरकारले विशेष पहल गर्नुपर्छ । जुम्लाको स्याउ राजधानी काठमाडौंलगायतका ठुला सहरमा पुर्‍याउनका लागि सडक पूर्वाधारको अवस्था सुधार गर्न आवश्यक छ । सडक सुधारको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्नुपर्छ ।’

सांसद शाहीका अनुसार नेपालमा उत्पादन हुने कृषि उपजलाई प्रोत्साहन गर्न सके किसानको जीवनस्तरमा सुधार आउँछ । यसका साथै देशको अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको विश्वास छ । उनले भनेका छन्, ‘जुम्ली स्याउ खाऔं, विदेशी स्याउ रोकौं । यसो गरे किसानको जीवनस्तर सुध्रिन्छ र देशको अर्थतन्त्रमै टेवा पुग्छ ।’

ADV

सम्बन्धित खबर

Advertise