काठमाडौं : नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटजस्ता हिंसात्मक गतिविधिमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्टीले यस्ता गतिविधिको कडा शब्दमा भर्त्सना गर्दै आन्दोलनमा प्रतिगामी र लोकतन्त्रविरोधी तत्वहरू घुसेर वितण्डा मच्चाएको आरोप लगाएको छ ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आइतबार जारी गरेको विज्ञप्तिमा यस्ता हिंसात्मक कार्यले आन्दोलनको मूल उद्देश्य र छविलाई धमिलो बनाएको उल्लेख छ । "आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्वहरूले वितण्डा मच्चाएका छन्, जसको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ," विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्रले आफ्ना कार्यकर्ता यस्ता गतिविधिमा संलग्न भएको पाइए कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । "हाम्रो पार्टीसँग सम्बन्धित कोही दोषी ठहरिए कडाभन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाणका आधारमा सरकारले पनि जोसुकैलाई कारबाही गरोस् भनी आग्रह गर्दछौं," सापकोटाले भने ।
पार्टीले जेनजी पुस्ताले उठाएका मागहरूप्रति आफ्नो समर्थन रहेको जनाउँदै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि नै सार्वजनिक अपिलमार्फत पार्टीको धारणा राखेको स्मरण गराएको छ । यद्यपि, आन्दोलनका क्रममा भएका विध्वंसात्मक गतिविधिमा माओवादी कार्यकर्ताको संलग्नता रहेको भन्ने केही पक्षको आरोपलाई पार्टीले आधारहीन र दुष्प्रचारको संज्ञा दिएको छ ।
माओवादी केन्द्रले सरकारलाई तथ्य र प्रमाणका आधारमा दोषीमाथि कारबाही गर्न र आन्दोलनको शान्तिपूर्ण मर्मलाई कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।