काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको छपाइ र वितरणसहित सूचना प्रविधिमा आधारित सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा विभागका कार्यालयहरूमा भएको तोडफोड र आगजनीले लाइसेन्स छपाइ गर्ने मेसिन, इलेक्ट्रोनिक उपकरण र सर्भरमा गम्भीर क्षति पुगेको छ । यसले गर्दा लाइसेन्स वितरण र विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवाहरू पूर्ण रूपमा ठप्प भएको विभागले बताएको छ ।
“विरोध प्रदर्शनका क्रममा कार्यालयका महत्वपूर्ण उपकरण र प्रणालीमा क्षति पुगेको कारण अहिले सेवा सञ्चालन गर्न सम्भव छैन । अर्को सूचना जारी नभएसम्म सबै सेवा बन्द रहनेछन्,” विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अवरोधले लाइसेन्स लिन पर्खिरहेका हजारौं सेवाग्राही प्रभावित हुने देखिएको छ । विभागले स्थिति सामान्य भएपछि सेवाहरू पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।