सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको कार्य निन्दनीय भएको बताएका छन् । आइतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई उद्देश्य भन्दा फरक ढंगले प्रयोग गरिएको र जिम्मेवार को हुने भन्ने विषयमा अन्यौल सिर्जना भएको बताए ।
मुख्यमन्त्री कँडेलका अनुसार आन्दोलन सुरु भएदेखि नै गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई भड्काएर घटना गराइएका छन् । उनले राजधानी काठमाडौंमै समेत अप्रिय घटनाहरू भएको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको जानकारी दिए । “घटना हुनु भन्दा पहिला नै काठमाडौंबाट सुर्खेत आइपुगें । तर सुरक्षाका कारण सञ्चारकर्मीहरूसँग प्रत्यक्ष भेटघाट गर्न सकिनँ,” कँडेलले भने ।
उनले घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेश सभामा भएको उल्लेख गर्दै प्रदेश सचिव र मन्त्रीहरूसँग आगामी जिम्मेवारी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताए । उनले काठमाडौंस्थित सिंहदरबार र संसद भवन, शीतल निवासलगायतका इतिहास बोकेका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएपछि कर्णालीमा पनि सुरक्षा प्रणाली फितलो पारिएको र जसका कारण आफू सुरक्षालाई मध्यनजर गर्दै कपासेस्थित सेनाको ब्यारेकमा बस्नुपरेको बताए ।
मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायले सजाय दिने प्रावधान रहेको भए पनि व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलनलाई भड्काइएको आरोप लगाए ।
उनले आन्दोलनमा व्यक्ति विशेष र पार्टी विशेषलाई मात्र लक्षित गरिएको भन्दै लेख्नेहरूले जे लेखे पनि आफूले आफ्नो दायित्व र कर्तव्य नबिर्सिने स्पष्ट पारे । उनले भने, 'जेनजीका नाममा भएको आगजनी र तोडफोड स्वीकार्य छैन । समस्याका बाबजुद सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ ।'
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बलियो भए समाज आफैं बलियो हुने उनको दाबी छ ।
मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनको विषयमा प्रदेश मातहतका कार्यालयहरुले आन्दोलनको बहाना नबनाई काम कारबाही अगाडि बढाउनुपर्ने बताए ।