२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कृषिबाटै आत्मनिर्भर : मनग्य आम्दानी भएपछि दंग ४ किसान

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते २१:५८
कृषिबाटै आत्मनिर्भर : मनग्य आम्दानी भएपछि दंग ४ किसान

रोयल आचार्य/मध्यान्ह

काठमाडौं : पछिल्लो समय कृषि पेशा रोजाईको पेशा बन्न छाडेको छ । आफैलाई खानका लागि बाहेक व्यवसायिक रुपमा कृषि कर्म गर्नेहरु सहरमा छैनन् । गाउँमा पनि घट्दै गएका छन् । अर्थात, कृषिमा व्यवसायिकरण छैन । कृषि कर्म गरिरहेकाहरु पनि सन्तुष्ट छैनन् । नवलपरासीको सुनवल–१३ बडैलामा पशुपंक्षी तथा कृषि समूह बनाएर पशुपालन गरिरहेका केही पुरुषहरु भने निकै सन्तुष्ट देखिए । उनीहरुले आफूहरुको विकल्प कृषि बाहेक अरुमा नभएको सुनाए । 

विश्व बैंकको सुहलियतपूर्ण ऋण सहयोगमा सञ्चालित कृषि तथा पुशपंक्षी मन्त्रालय माताहतको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाबाट उनीहरुले पूरक अनुदान समेत लिएका छन् । आयोजनाबाट ५० प्रतिशत अनुदान पाएका समूहका अधिकांश दंग छन् । कृषि कर्ममै आफूहरु सदैव रमाउने उनीहरु बताउछन् । अझ रमाइलो कुरा त यो समूहमा कोेही विदेशबाट फर्किएका र भविष्यमा समेत विदेश जाने सम्भावना नभएका (अपवाद बाहेक) रहेका छन् । मेहनत गरे राम्रै हुन्छ भन्ने यि माथिका चार पुरुषहरुले निर्धकका साथ बताएका छन् । 

२२ जना सदस्य रहेको यस समूहका अध्यक्ष भने गंगाराम गैरे हुन् । अध्यक्ष गैरेले जीवनको लामो समय सवारी चालक पेशामा बिताए । गाडि चलाएर चित्त बुझ्दो आम्दानी नै थियो । सायद, आपत आइनलागेको भए उनी गाडि चालककै रुपमा अहिले पनि रमाइरहेका हुन्थे । तर सोचे जस्तो कहाँ हुन्छ र । जनकपुरबाट नेपालगञ्ज रुटमा गाडि चलाइरहेका गैरे मधेश आन्दोलनबाट विस्थापित भए । मधेश आन्दोलन चर्किदै गर्दा उनी पनि आन्दोलनको तारोमा परे । एक दिन आन्दोलनमा होमिएका केही व्यक्तिहले उनलाई खेदाए । गैरेको भनाइ अनुसार उनी भागेर भारतको गोरखपुर पुगे । गोरखपुर हुँदै उनी आफ्नै गाउँ फर्किए । 

अब गाडि चलाउने सम्भावना रहेन । के जागिर खाने ? वा के काम गर्ने ? सबै भन्दा सहज उनलाई कृषि कर्म लाग्यो । उनले पशुपालन गर्ने योजना बनाए । उनको योजनामा परिवारले पनि साथ दियो । अनि सुरु भयो उनको पशुपालन यात्रा । 

गैरेको समूहमा सचिव रहेका घनश्याम आले भने शिक्षण पेशामा छन् । उनी स्थानीय निजी विद्यालयमा अहिले पनि शिक्षकको रुपमा कार्यरत छन् । २२ वर्ष भयो उनले स्कुल पढाउन थालेको । निजी स्कुल पढाएकै भरमा घर चलाउन सहज पनि छैन । त्यसैले उनी र उनको परिवारले पनि पशुपालन गरेको छ । स्कुल पढाउन जानु अघि र स्कुल छुट्टि भएपछि उनी घास काट्ने, भकारो सोर्नेदेखि दुध दुनेसम्मका काम परिवारकै सदस्य मिलेर गर्छन् । 

विद्यालयमा दिने समय बाहेको सबै समय उनले पशुपालनमा दिएका छन् । बिदाको दिन अलि बढि समय कृषि कर्मका लागि छुट्याउछन् । अन्य दिन पनि उनी विहान बेलुका गोठमै खटिन्छन् । 

समूहमै रहेका दिनेश ढकालको घर गुल्मी हो । तर उनी परिवारसहित सुनवलमा भाडामा बसिरहेका छन् । जग्गा लिजमा लिएका छन् । उनी वैदेशिक रोजगारीमा गएका थिए । विदेश भन्दा त स्वदेशमै केही गर्न सकिन्छ कि भन्ने उनमा आएपछि स्वदेश फर्किए कृषि कर्ममा लागे । १२ कक्षा र ८ कक्षामा पढ्ने २ सन्तानसहित ढकाल दम्पति अहिले कृषि कर्ममा रमाइरहेका छन् । 

३ वर्ष साउदी अरेबिया बस्दा ढकालले पैसा नकमाएका होइनन् । उनले कमाएको केही रकमले घडेरी जोडे । घडेरी जोडेपछि उनको परिवार पनि दंग छ । अब भने ढकाललाई जे गर्छु नेपालमै गर्छु भन्ने लागेको छ । 

समूहकै अर्का सदस्य कृष्णप्रसाद पन्त पनि कृषि कर्ममा रमाएका छन् । २ सन्तानहरु मध्ये छोरीको बिवाह भयो । छोरा काठमाडौंतिर रमाइरहेका छन् । अनि पन्त दम्पति चाहिँ गाउँमै पेशा व्यवसायमा रमाइरहेका छन् । उनी चाहिँ सुरुदेखिकै कृषि पेशामा रमाइरहेका छन र आगामी दिनमा पनि कृषि कर्ममै रमाउने बताउछन् । अर्थात, उनलाई विदेश मोह छैन । पशुपति शर्माको मलाई अमेरिका यही, जापान पनि यही भन्ने गीत जस्तै पन्तको सबै थोक आफ्नो पेशा व्यवसाय नै हो । 

यो समूहका सबै सदस्यले नेपाल लाइभस्टक सेक्टर इनोभेस आयोजना (एनएलएसआईपी) बाट ५० प्रतिशत अनुदान पाएका छन् । २० प्रतिशत आफैले लगानी जुटाएका छन् भने ३० प्रतिशत बैंकबाट ऋण लिएका छन् । आयोजना पनि यसबाट खुसी छ । आयोजनाका सूचना अधिकारी इश्वरी खतिवडा किसानहरुको खुसी नै आफ्नो खुसी भएको बताउछन् । किसानहरु अहिले खुसी रहेको भन्दै यसले आयोजना पनि खुसी रहेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise