२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

कुमाखमा रोजगारी कार्यक्रम प्रभावकारी बन्दै, महिलाको सहभागिता उल्लेखनीय

shivam cement
प्रदीप मगर
२०८२ साउन १३ गते ०९:५५
कुमाखमा रोजगारी कार्यक्रम प्रभावकारी बन्दै, महिलाको सहभागिता उल्लेखनीय

सल्यान : सल्यानको कुमाख गाउँपालिकाले गत आर्थिक वर्ष २०८१-८२ मा साझेदारी कार्यक्रमअन्तर्गत रोजगारीका काम गरेको छ । विगतका दिनहरूमा सामान्य गोरेटो बाटो मर्मत लगायतका काम गर्दै आएकोमा त्यसलाई परिमार्जन गरेर साझेदारी कार्यक्रमअन्तर्गत रोजगारीका काम गरेको हो । 

गाउँपालिकामा यस वर्ष कामका लागि पारिश्रमिकमा आधारितअन्तर्गत ७ वटा योजना,  मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ वटा तथा युवा रोजगारीका लागि रुपान्तरण पहल योजना कार्यक्रमअन्तर्गत ७ वटा कार्यक्रम कार्यान्वयनमा थिए । 

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत करिब २१ सय मिटर सिंचाइ कुलो निर्माण गरिएको छ भने, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ खानेपानी आयोजना निर्माणसँगै रिचार्ज पोखरीहरू निर्माण गरिएको छ । 

७७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फतको काम गरेका थिए भने १ सय ५ जनाले मुख्यमन्त्री रोजगारको कामअन्तर्गत विभिन्न योजनाको काम गरेको कुमाख गाउँपालिकाका रोजगार संयोजक जिवन शर्माले जानकारी दिए । “अधिकांश योजना उत्पादनमुखी क्षेत्रमा केन्द्रित भएकाले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ,“ संयोजक शर्माले भने । वैदेशिक रोजगारी व्यवस्थापन र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले उल्लेखनीय प्रगति गरेको उनको भनाइ छ ।

अधिकांश योजनाहरू उत्पादन मुलक क्षेत्रमा कार्यान्वयन भएको र यसले नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको  उनले बताए । रोजगारी सिर्जना र वैदेशिक रोजगारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर उल्लेखनीय प्रगति गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रममा २६ लाख ८० हजार बजेट विनियोजन गरिएको थियो भने मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ करोड ५ लाख बजेट विनियोज भएको थियो । यस्तै युवा रोजगारीका लागि रुपान्तरण पहल कार्यक्रममा २६ लाख ७२ हजार बजेट विनियोज भएको थियो । 

गाउँपालिकाले वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरू र  श्रम स्वीकृति लगायतका सेवा प्रदान गर्न थालेको उनले बताए । 'यसले विदेश जाने प्रक्रियालाई सहज बनाएको छ,' संयोजक शर्माले भने । 

२०८१-८२ मा साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले २८ लाख रुपैया बजेट विनियोजन गरेको कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप सोनीले जानकारी दिए । उनले भने 'रोजगारीका कामलाई प्रभावकारी बनाउन उपभोक्ता समितीलाई तालिम देखि अनुगमनका कामलाई प्राथामिकता दिएकाछौं '। 

उनका अनुसार रोजगार सेवा केन्द्रमार्फत ८७ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । गाउँपालिकाले बालश्रम न्यूनीकरणका लागि यातायात क्षेत्रमा अनुगमन गरी सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको छ । यसले जोखिमपूर्ण क्षेत्रमा कार्यरत बालबालिकालाई संरक्षण गर्ने उद्देश्य राखेको छ । सहभागितामा आधारित योजनाहरूलाई अझ फराकिलो बनाउँदै लैजाने र गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने योजना गाउँपालिकाले अघि सारेको छ ।

जिल्लामा ४३ हजार ६ सय ६५ जना बेरोजगार सूचीकृत, महिलाको सहभागिता उल्लेखनीय

गत वर्षको तथ्याङ्कअनुसार सल्यानमा ४३ हजार ६ सय ६५ जना बेराजगारी सूचीमा सूचीकृत भएकोमा २८ हजार ५ सय ६७ जना महिला रहेका छन् भने १५ हजार ९८ पुरुष रहेका छन । ति मध्ये १४ सय ३० महिला र ८ सय १३ पुरुषले मात्र काम पाएका हुन । 

त्यस्तै  कुमाख गाउँपालिकामा गत वर्ष १ हजार ७ सय ३० जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका थिए । तीमध्ये १ हजार १ सय ८४ महिला र ५ सय ४६ पुरुष थिए । यस आर्थिक वर्षमा पनि करिब १ हजार २ सय ७६ जना नयाँ बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् ।

गाउँमा रोजगारीका सीमित अवसर र वैदेशिक रोजगारीको आकर्षणले गर्दा धेरैजसो पुरुषहरू विदेश गएका छन् । जसको परिणामस्वरूप, घर धान्नेदेखि लिएर गाउँको विकास निर्माणसम्म महिलाहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा अन्य विकास आयोजनाहरूमा सल्यानका ग्रामीण क्षेत्रका महिलाहरूले सक्रिय सहभागिता जनाइरहेका छन् ।

महिलाहरूको यस्तो सहभागिताले उनीहरूको आर्थिक अवस्था समेत सुधार हुँदै गएको देखिन्छ । कुमाख गाउँपालिका–३ की सिता भण्डारी यसको एक उदाहरण हुन् । केही वर्षअघि घरबाहिर निस्कन पनि लाज मान्ने भण्डारी अहिले भने गाउँमा सञ्चालन हुने हरेक विकास निर्माणका काममा अग्रसर रुपमा सहभागी हुन्छिन् । “पहिले काम खोज्न गाह्रो थियो, अहिले गाउँमै काम पाइन्छ,” उनले भनिन् । आजभोली  उनी योजना छनोट, गाउँसभा, बैठक तथा श्रममा आधारित कार्यहरूमा आत्मविश्वासका साथ प्रस्तुत हुन्छिन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise