२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

उत्तरगंगा खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

shivam cement
बालाराम शेर्पाली
२०८२ साउन १३ गते २०:५७
उत्तरगंगा खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

रुकुमपूर्व : रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा हुँदै शहीदमार्ग २०७९ सालमा पहिलोपटक सवारीसाधन प्रवेश गरेको थियो ।  

स्थानीयवासीले यातायातको सहजता र विकासको अपेक्षा गरेका थिए । तर, उत्तरगंगा खोलामा पुल नहुँदा आजसम्म पनि उनीहरू असहज र जोखिमपूर्ण जीवन बाँच्न बाध्य छन् । 

खोलामा पुल नहुनु स्थानीयहरूका लागि प्रमुख समस्या बनेको छ । बर्खायाममा खोलो तर्नै मुस्किल हुन्छ भने सुख्खा मौसममा समेत जोखिम कम छैन । विद्यालय जाने बालबालिका, अस्पताल जानुपर्ने बिरामी र कृषि उपज बोकेर हिँड्ने किसान सबैलाई यो समस्या दैनिक रूपमा पर्न आएको छ ।

पुथाका अधिकांश स्थानसम्म गाडी पुगिसके पनि पुल नहुँदा यात्रा कठिन र खर्चिलो बनेको छ । पुथा उत्तरगंगा गाउँपालिका–१, मैकोटका स्मृति लामाका अनुसार सेरा खोलो नजिकैको बाटो अब आधा घण्टा लाग्ने भएको छ, जुन सामान्यतया पाँच मिनेटमै पुगिन्थ्यो । 

यस वर्ष गाउँपालिकाले तल्लो सेरामा पर्ने उत्तरगंगा खोलामा बेलिब्रिज निर्माण गर्ने योजना ल्याएको छ। पुल नहुँदा बाछिगाउँ, बिर्गुम, पद्ममि, खार्वाङ, हुकाम, मैकोट र पेल्ला गाउँका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । 

स्थानीय अभिमान नेपालीका अनुसार बर्खायाममा खोलो उर्लिँदा विद्यालय, अस्पताल र अन्य दैनिक गतिविधि पूरै बन्द हुन्छ ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरका अनुसार पक्की पुल निर्माणको जिम्मा पाएका ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । हालको आर्थिक वर्षमा बेलिब्रिजका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए ।

तर, खोलामा अहिले पनि कुनै निर्माण तयारी देखिँदैन। न मेसिन छ, न जनशक्ति । निर्माणस्थल सुनसान छ । सडक र पुल नहुँदा तकसेरादेखि पेल्लासम्मको जनजीवन प्रभावित भएको छ । बिरामीको उपचार र कृषकहरूको उत्पादन बजारमा पुर्‍याउनसमेत समस्या भएको छ ।

स्थानीयवासीहरूले तत्काल पुल निर्माण कार्य अघि बढाउन माग गर्दै सरकारको  ध्यानाकर्षण गराएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise