सल्यान : सल्यानमा बिहीबार बिहान भेरी नदीले बगाएर ल्याएको एक बेवारिसे शव फेला परेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- १. को अम्रास्थित भेरी नदी किनारमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहान ९ः०० बजेतिर नदीकिनारमा क्षतविक्षत अवस्थामा लडिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर खरेका थिए । ईलाका प्रहरी कार्यालय देवस्थलका प्रहरी नायब निरीक्षक धन बहादुर नेपालीसहितको टोली पुग्दा बेवारिसे व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
नाम, थर वतन नखुलेको शव कसको हो भन्ने नखुलेको र सोधीकार्य भईरहेको इप्रका सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । “शव अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएको छ, पहिचान गर्न सकिने अवस्थामा छैन । यद्यपि, हामी अनुसन्धानमा जुटिरहेका छौं ।“ प्रहरी निरीक्षक रेशम खत्रीले भने ।
शवको अवस्था अत्यन्तै क्षतविक्षत रहेको र लामो समयदेखि पानी वा नदी किनारमा रहेको अनुमान गरिएको छ । शरीरको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भइसकेको छ भने तलको भाग क्षतविक्षत भएर गलेको छ । किरा लागेको, छालामा रंग परिवर्तन भएको र शरीरमा फोहोरले ढाकिएको अवस्थामा शव भेटिएको हो ।